कूटनीतिलाई खेलाँची नठान



मुलुकको इज्जतसँग जोडिएको राजदूत पदमा जान लागेकाहरू सामान्य प्रशिक्षणविना नै काम गर्न जान लागेको समाचार सार्वजनिक भएको छ ।

वास्तवमा यो निकै लज्जाजनक अवस्था हो । विगतमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रशिक्षणलगायतको काम गर्दै आएकोमा पछिल्लो समयमा सो काम पनि हुन नसकिरहेको कुरासमेत सार्वजनिक भइरहेको छ । राजदूत सिफारिसमा परेकाहरू पनि कसरी प्रभावकारीरूपमा कार्यभार सम्हाल्ने भनेर आफैं सिक्नुको सट्टामा भोजभतेरमा रमाउन लागिपरेको कुराहरू पनि आइरहेका छन् । यो अवस्थाले गर्दा मुलुकको कूटनीति र देशको इज्जत कता जाँदै छ भन्ने कुरा जगजाहेर हुँदै गइरहेको छ ।

पहिलो कुरा सरकारले सिफारिसको निर्णय गर्दा नै विज्ञहरूलाई खोजेर सिफारिस गर्नुपर्दथ्यो । त्यसमा त्रुटि भएको छ र राजनीतिक भागवण्डाको आधारमा मनलाग्दी ढंगले मान्छेहरू छानिएका छन् । बाहिरबाट सर्सर्ती हेर्दा दलहरूले आर्थिक लाभ लिएर वा ठूला नेताहरूका नातागोतालाई पोस्ने अभिप्रायले मान्छे चयन गरिएका हुन् भन्नमा कुनै शंकोच मानिरहनुपर्दैन ।

सरकारले गरेको गल्ती संसदीय सुनुवाइ समितिले सच्याउनुपर्ने हो तर त्यहाँ पनि सरकारले गरेको कामलाई ल्याप्चे लगाएर प्रमाणित गर्ने भन्दा अरु कुनै पनि काम हुन सकेको छैन । त्यसले गर्दा नेपालको संसद्को गरिमालाई नै आँच आउने काम गरेको छ । समाजमा बदनाम पात्रहरूलाई संसदीय सुनुवाइ समितिले सिफारिस गरेपछि अब एग्रिमोको चरणमा राजदूत नियुक्ति प्रक्रिया प्रवेश गरेको छ ।

एग्रिमोको चरण पार भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने हो । एग्रिमो अस्वीकृत हुने घटना भनेका यदाकदा मात्रै हुन्छन् । विशेष नै उजुरी कतैबाट परेको छ भने महिनौं सम्बद्ध देशले लट्काइदिने कामलाई नै एग्रिमो अस्वीकृत भएको रूपमा लिने गरिएको छ ।

अहिले पनि कतिपयको हकमा यस्तै नहोला भन्न सकिँदैन । यद्यपि स्वीकृति भई आएर नियुक्त नै भइसकेपछि पनि राजदूतले निर्वाह गर्नुपर्ने सामान्य शिष्टाचारको प्रक्रिया पूरा गर्न सकिएन भने त्यसबाट देशकै बेइज्जत हुने निश्चित छ ।

विगतमा पनि कतिपय राजदूतहरू नजाने ठाउँमा गएको र नगर्ने काम गरेको भनेर छरपस्टरूपमा आएकै हो । अहिले त झनै बुझ्दै नबुझेका मान्छेलाई त्यो पनि तालिम नै नदिई पठाउँदा के हालत होला ? दूतावासका कर्मचारीले नटेर्नेदेखि अनेक समस्या पर्न सक्ने टड्कारो अवस्था देखिएको छ ।
त्यसैले राजदूत पठाउनुभन्दा अघि के–के प्रक्रिया पूरा गर्नुपर्ने हो, त्यो पूरा गरेर मात्रै पठाउनेतिर परराष्ट्र मन्त्रालयले ध्यान देओस् । पछि गल्ती भयो भनेर पछुताउनुभन्दा पहिला नै आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको छ । कूटनीतिलाई खेलाँचीको रूपमा लिने काम नगरौं । राष्ट्रिय रूपमा गरिएका कतिपय गल्ती क्षम्य हुन सके पनि अन्तर्राष्ट्रिय जगत्मा हुने गल्तीलाई क्ष्यम्य मान्न सकिँदैन । सबैले यसतर्फ बेलैमा ध्यान दिऊन् ।

प्रतिक्रिया दिनुहोस्