अमेरिका आएको त्यो मेक्सिकन



भगवती तिमल्सिना
सानएनटोनियो, टेक्सास

विद्यार्थीलाई सिकाउने क्रममा क्रियाशील बनाउनका लागि आधा चित्र बनाएर पूरा गर्न लगाउनुपर्छ। यस्तो क्रियाकलापले बच्चाको दिमाग सक्रिय हुन्छ र पूरा गर्छन्। बच्चाले सिक्दै गरेका विषयमा जहिले पनि हौसला दिनुपर्छ सिधै यो भयो या भएन भन्नुभन्दा अझ अरू पनि गर स्याबास भन्नुपर्छ। एडवार्डो डेलाको जीवनमा बेलर कलेजमा पढेर उच्च शिक्षा हासिल गरी फारसी भाषा सिकेको र गितार बजाएर स्टेजमा जानुपर्ने भयो। स्टेजमा जानासाथ तार छिन्यो तयारी गरेको कुरा व्यक्त गर्न सकिने भएन। चुपचाप बस्नुहुन्न भनेर आफूले स्पेनिस र अंग्रेजी भाषा मिक्स गरेर गाएँ वाह वाह पाएँ ।

अमेरिकाको सानएनटोनियोको बन्डेरा ब्राउन रोडको दोबाटोमा एउटा चिटिक्क परेको घरमा पुग्दा अनगिन्ती कलाकृतिले सजिएको देखियो। एक जना पाको उमेरका व्यक्ति बसोबास गर्ने घरको प्रवेशद्वारदेखि नै नयाँनयाँ सिर्जनाले ढाकिएको थियो। झट्ट हेर्दा कुनै लेखक या कलाकारको घर होला भन्ने लाग्थ्यो। जब घरभित्र प्रवेश गरियो त्यहाँभित्र आत्मीय भावले भरिएका कला, संस्कृतिको खानी अर्थात् पुराना सामग्रीको संग्रह रहेछ। झट्ट देख्दा लाग्थ्यो यो कुनै एक धनाढ्य व्यक्तिको घर होला। विषय प्रवेशसँगै बुझ्दै जाँदा सामान्य परिवारमा हुर्केका एक मेक्सिकन मूलका अमेरिकी नागरिक अर्थात् शिक्षकको निवास रहेछ।

हरेक मानिसको सोच फरक–फरक हुन्छ। कसैले परेर सिक्छ त कसैले पढेर सिक्छ भन्ने बूढापाकाहरूको भनाइ यथार्थमै हो रहेछ भन्ने कुरा मेरो छोटो समयको अमेरिका बसाइका क्रममा महसुस भयो। घुमफिरकै क्रममा म, मेरो दाइ रामप्रसाद उपाध्याय र भाउजू राधादेवी तिमल्सिना उहाँको निवास बन्डेरा ब्राउन स्टेसनमा पुगेका थियौं। त्यस स्थानमा उनै कलाकार, साहित्यकार अनि शिक्षक ७२ वर्षअघि मेक्सिकोमा सामान्य परिवारमा जन्मेर शिक्षाका लागि जन्म दिने आमाको साथमा अमेरिका आइपुगेका रहेछन्। हाम्रो भेट उनै पहिलाका मेक्सिकन अहिलेका अमेरिकी नागरिक एडवार्डो डेलासँग भयो।

उनी दाइको पुरानो मित्र रहेछन्। आफूले शिक्षा लिएर अरूका लागि पनि केही गर्ने उद्देश्यले शिक्षण पेसा अपनाएका एडवार्डो यति बेला अमेरिकाका थुप्रै जनताका माझ शिक्षाको दियो बनेका रहेछन्। शिक्षा कसरी दिने र के हो भन्ने बारेमा छोटो भेटघाटमा उनले भनेका कुरा कुरा मेरो मानसपटलमा घुम्यो र नेपालको परम्परागत शिक्षा र गुरुवर्गको व्यवहारको सम्झना आयो। उनले एक जना अमेरिकी नागरिकको बच्चालाई शिक्षा दिने क्रममा अरूले केही गर्दैन र पढ्दैन भनेर गुनासो गरिरहने गरेको बच्चा कसरी सुध्रियो भन्नेबारेमा सुनाएको यथार्थ घटना अत्यन्तै प्रभावकारी र शिक्षाप्रद थियो।
बालबालिकाको भावना र आवश्यकताअनुसारको वातावरण नबन्दा कति प्रभाव पर्छ भन्नेबारेमा उनले निकै राम्रोसँग बुझाए। उनले एउटा बच्चालाई विद्यालय र परिवार सबैले केही गर्न सक्दैन भनिरहेको अवस्थामा आफूले गरेको व्यवहारबाट सबैभन्दा राम्रो विद्यार्थी भएर अघि बढेका थुप्रै यथार्थ पस्किए। एउटा बच्चा कहिल्यै नपढ्ने, पेन्सिल भाँचेको भाँचेकै गर्ने, कपीमा केरेको केरेकै गर्ने, लुगा एकातिर, मोजा अर्कातिर जुत्ता अर्कातिर फालेर बस्ने भएकै कारण गुरुहरू र अभिभावक हैरान भएको अवस्थामा आफूले भेटेर सुधारको उपाय अपनाएको मार्मिक भनाइ शिक्षाप्रद थियो।

बच्चाले जतिपटक पेन्सिल भाँचे पनि गाली हैन पुन पेन्सिल ताछ्ने, नयाँ पेन्सिल दिने र जुत्ता, मोजा, कपडा खोलेर राख्ने छुट्टै ठाउँको व्यवस्था गर्दै गएपछि बच्चाले लेखपढ गर्नुका साथै अरूको पेन्सिल भाँचिदा समेत ताछ्ने र सरसफाइमा ध्यान दिने गरेको बिर्सनै नसक्ने क्षणलाई स्मरण गरे। अहिले उनी निकै राम्रो काम गर्ने इन्जिनियर भएका छन्।

एकछिन पनि हात खाली बस्न नचाहने स्वभावका व्यक्ति एडवार्डो डेलासँगको कुराकानी र उनको संग्रह अत्यन्तै प्रभावकारी थियो। उनको अनुभव र सिकाइ अरूका लागि पनि शिक्षा हुने देखेर अर्को दिन हामी परिवारका भाइ सन्तोष र बहिनी तृष्णा (नानी) तिमल्सिना समेत उनको घरमा पुग्यौं। उनीसँगको बसाइमा मेरो ध्यान उनले दिएको अभिव्यक्ति र उनको भित्तामा कोरिएका चित्रमा केन्द्रित भए। भित्ताभरि परिवारको भावना र श्रमसँग जोडिएका चित्र कोरिएको थियो। त्यसको सिर्जना उनै एडवार्डो डेलाले समय मिलाएर तयार पारेको बताए। झन्डै १४ वर्ष पहिला ममतामयी मातालाई गुमाएर एक्लो बनेका उनले आमाको सम्झना र चिनोका रूपमा उनको शयन कक्षमा रहेका सिलाई मेसिन, पुस्तक, हरेक औजारहरू सुरक्षित तरिकाले कुनै म्युजियममा सजाएझैं गरिराखेका रहेछन्।

यति मात्रै होइन उनको एउटा भाइ बच्चाको खेलौना गाडीको अत्यन्तै सौखिन र हरेक किसिमका नयाँ गाडी बजारमा आउँदा जसरी पनि संकलन गर्ने स्वभावको भएको र एडवार्डोले भाइको इच्छा पूरा गर्न जीवन नै दिएको पाइयो। भाइको इच्छाअनुसार संकलन गरिएका सयौं खेलौना गाडी सजिएको एउटा कोठाको भित्ताभरि कलाकृत्तिले भरिएको थियो। यति बेला उनको भाइको पनि देहावसान भइसकेको छ। तर एडवार्डो डेलालाई आमा र भाइको चिनो सजाएर राख्नमा जति सन्तोष मिल्छ अरू गरेर मिल्दैन। यात्रा, कला, लेखन, संगीत, गितार, काष्ठकला जस्ता विषयमा पोख्त व्यक्ति जोसँग पनि उत्तिकै मिलनसार छन्।

जोकोहीलाई उनको घरको ढोका खोल्नासाथ कलाले आकर्षित गर्छ। हरेक क्षेत्रमा रुचि राख्ने पारखी व्यक्तित्व एडवार्डो डेला जुनसुकै काम गर्दा योजनाबद्ध ढगले अघि बढ्ने भएकै कारण सफलता मिलेको बताउँछन्। उच्च शिक्षा हासिल गर्न अमेरिका प्रवेश गरेका उनले आफूले मात्र शिक्षा लिने नभई थुप्रै अमेरिकीहरूलाई पनि ३८ वर्ष लामो समय शिक्षा दिनमा बिताए। अहिले पनि उनी शिक्षाकै क्षेत्रमा तल्लीन छन्। उनले अमेरिकाको ४ वटा विद्यालयमा स्वास्थ्य, स्पेनिस, टेनिस, पौडी, सकर, भलिबललगायतका विषयमा शिक्षा दिँदै आएका छन्। उनको परिवारमा बुबा पनि कलाकार रहेछन्। तर, आफूले बाबुबाट सिक्ने अवसर नपाएको उनी बताउँछन्।

आफू ४ वर्षको हुँदा नै बाबुआमा छुट्टिएर बसेका र आफू आमासँग हुर्किएकाले बुबाको कला सिक्ने अवसर नमिलेको उनी बताउँछन्। प्राथमिक शिक्षा पढ्ने क्रममा कक्षा ४ मा पुग्दा आफू पढ्दै अरूलाई पनि पढाउनुपथ्र्यो। चित्र बनाउन अण्डा आकारको गोलो बनाएर सिकाउनुपथ्र्यो। यसैबाट कला सिकेर आफ्नो जीवनलाई कलामय बनाउन सिकें। मेरो जीवनमा परिवारको सदस्य गन्ने हो भने झन्डै तीन दर्जनभन्दा बढी दाइ, भाइ, भतिजा, भान्जा, भान्जी रहेका छन्। एडवार्डो भन्दै गए– ‘अहिले पनि शिक्षामा नै सक्रिय जीवन बिताउँदै आएको छु।’ परिवारका सदस्यहरूले पनि उत्तिकै आदर गर्ने र समयसमयमा आवश्यकताअनुसार सरसल्लाह तथा सहयोग गर्दै आएको छु।’

उनी भन्छन्– ‘विद्यार्थीलाई सिकाउने क्रममा क्रियाशील बनाउनका लागि आधा चित्र बनाएर पूरा गर्न लगाउनुपर्छ। यस्तो क्रियाकलापले बच्चाको दिमाग सक्रिय हुन्छ र पूरा गर्छन्। बच्चाले सिक्दै गरेका विषयमा जहिले पनि हौसला दिनुपर्छ सिधै यो भयो या भएन भन्नुभन्दा अझ अरू पनि गर स्याबास भन्नुपर्छ।’ एडवार्डो डेलाको जीवनमा बेलर कलेजमा पढेर उच्च शिक्षा हासिल गरी फारसी भाषा सिकेको र गितार बजाएर स्टेजमा जानुपर्ने भयो। स्टेजमा जानासाथ तार छिन्यो तयारी गरेको कुरा व्यक्त गर्न सकिने भएन। चुपचाप बस्नुहुन्न भनेर आफूले स्पेनिस र अंग्रेजी भाषा मिक्स गरेर गाएँ वाह वाह पाएँ, उनले भने। त्यति बेला मेरो गीत राम्रो भएर नभई हौसला दिनका लागि सबैले ताली बजाएकै कारण मलाई अघि बढ्न मद्दत मिल्यो। यही सिकाइबाट आफूले एउटा बोल्न नसक्ने बच्चालाई चित्रकलाको सामग्री दिएर चित्र बनाउन सिकाएँ ऊ पछि गएर चित्रकार बन्यो। यस्ता सिकाइ र भोगाइका खानी एडवार्डो डेला सिक्दै र सिकाउँदै यति बेला उच्च गुरुको स्थानमा आफूलाई स्थापित गर्न सफल भएका छन्। यस्ता कलिला मनलाई जितेर अघि बढेका व्यक्ति अझै पनि सबैका लागि शिक्षाको खानी र प्रेरणाका स्रोत भएका छन्।

प्रतिक्रिया दिनुहोस्