बालुवामा पौने करोडको प्रहरी भवन बन्दै भीआईपीलाई छुट्टै हिरासत



मोतीराम तिमल्सिना
काभ्रेपलाञ्चोक
भूकम्पबाट क्षतविक्षत भएको प्रहरी चौकी बालुवामा भूकम्प प्रतिरोधात्मक पक्की भवन निर्माण हुने भएको छ। भवनको शिल्यान्यास जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले गरेका छन्।

यू एन्ड एस कन्सल्टेन्सीले निर्माण गर्ने जिम्मा पाएको उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा निर्माण हुन लागेको हो। लागत स्टमेट १ करोड ७५ लाख रहेको उक्त भवन १ करोड ५९ लाखमा निर्माण हुने भएको छ। दुईतले पक्की भवनमा महिला⁄पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कोठा, शौचालय, आगन्तुकका लागि छुट्टाछुट्टै महिला पुरुष शौचालय निर्माण हुने भएको छ। एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी पाएको कन्सल्टेन्सीले समयअगावै निर्माण कार्य सम्पन्न गर्ने प्रोपाइटर भैरव अधिकारीले जानकारी दिए। भवनको शिलान्यास गर्दै एसपी सहकुलबहादुर थापाले समयमै निर्माण सम्पन्न गरी स्थानीय नागरिकलाई शान्ति सुरक्षा गुणस्तर र प्रभावकारी ढंगबाट प्रदान गर्न सहज हुने बताए। स्थानीयलाई भवनका बारेमा अनुगमन गर्न, ढिलासुस्ती भएमा खबरदारी गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न थापाले आग्रहसमेत गरेका थिए।

५ रोपनी क्षेत्रफलमा फैलिएको बालुवा प्रहरी चौकी २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षतविक्षत थियो। त्यही क्षतविक्षत भवनबाटै सेवा दिइरहेका प्रहरीहरूका लागि नयाँ बन्ने भवनले थप खुसी दिएको प्रहरी इन्चार्ज नेत्र काफ्लेले बताए। बालुवामा जस्तै भूकम्पपछिको पुनर्निर्माण हुने सौभाग्य ढुंखर्क प्रहरी चौकीले प्राप्त गरेको छ। २ करोड ५० लाखको लागत स्टमेटमा निर्माण हुन लागेको ढुंखर्क प्रहरी चौकीको निर्माण कार्य तत्काल शुरू हुने इन्जिनियर एवं प्रहरी निरीक्षक विमला श्रेष्ठले बताइन्। ढुंखर्कमा बन्ने भवन इलाका स्तरीय हुनेछ। बालुवा प्रहरी चौकीभन्दा दोब्बर क्षमता हुने भएकाले थप लगानी वृद्धि भएको हो।

जिल्लामा रहेका प्रहरी चौकीमध्ये शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यसअघि पनौती, कुशादेवी, श्यामपाटी, मंगलटारमा निर्माण सम्पन्न भइसकेको छ भने चौवास र कात्तिकेदेउरालीमा निर्माण कार्य सम्पन्न हुँदै छ। भूकम्पपछि जिल्ला प्रहरी कार्यालयभित्र ४८ जना महिला⁄पुरुषका लागि सुविधा सम्पन्न ब्यारेक, जुनियर प्रहरी अधिकृतहरूका लागि मेस, सुविधासम्पन्न ४० जनासम्म अटाउन सकिने हिरासत कक्ष, जसमा महिला⁄पुरुष र भीआईपीलाई छुट्टै राख्ने हिरासत कक्षसमेतको निर्माण हुनेछ। डीएसपी र इन्सपेक्टरका लागि समेत छुट्टै क्वार्टर भवन निर्माण हुने भएको छ। भूकम्पपश्चात काभ्रेपलाञ्चोकका अधिकांश प्रहरी त्रिपाल र टेन्ट मुनि बसिरहेका छन्।

डाँडापारिको फोक्सिङटार, फलामेटार, साल्धारा, गोकुलेमा अझै प्रहरी चौकी भवन निर्माण गर्ने योजना बनेको छैन भने दोलालघाट, शिखरआम्बोटे, पाँचखाल, नाला, बनेपालगायतका स्थानमा प्रहरी चौकीको अभावले दैनिक प्रदान गर्ने सेवा सुविधासमेत प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्