महासंघको अधिवेशन जेठ २० मा



काठमाडौ । नेपाल पत्रकार महासंघको १२औं पूर्ण बैठक आईतबार नगरकोटमा सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक परिस्थिति र महासंघका सांगठनिक विषय, नयाँ सदस्यता तथा नवीकरण एबं पत्रकारका पेशागत तथा व्यावसायिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

नेपाल पत्रकार महासंघको विगतदेखिको परम्परा अनुसार प्रत्येक तेस्रो वर्षको मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आफ्नो महाधिवेशन आयोजना गर्ने गरेको र यो वर्ष पनि सोही मितिमा महाधिवेशन गर्ने तयारी गरिरहेको अवस्थामा २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएकाले महासंघको २५औं महाधिवेशन ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारा सहित आगामी जेठ २० गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

महाधिवेशन सफल पार्न अध्यक्ष डा. विष्टको अध्यक्षतामा कार्यसमिति पदाधिकारी तथा सदस्य, लेखासमिति संयोजक तथा सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार, सञ्चारसम्बद्ध संघ÷संस्थाका प्रतिनिधिसहित १ सय १ सदस्यीय मूल व्यवस्थापन तयारी समिति गठन गरेको छ ।

त्यस्तै उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा आवास, उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा भोजन, महासचिव उजिर मगरको संयोजकत्वमा प्रचार÷प्रसार, सचिव प्रभात चलाउनेको संयोजकत्वमा स्मारिका प्रकाशन, सचिव संगिता खड्काको संयोजकत्वमा स्वागत, सचिव ध्रुब लम्सालको संयोजकत्वमा स्वयंसेवक, कोषाध्यक्ष सूर्यमणि गौतमको संयोजकत्वमा आर्थिक स्रोत परिचालन, सदस्य प्रकाश तिम्लिसिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य ईश्वरी वाग्लेको संयोजकत्वमा यातायात, रामहरि सिलवालको संयोजकतत्वमा प्रतिनिधि सामग्री व्यस्थापन, सदस्य रोशन पुरीको संयोजकत्वमा स्वास्थ्य लगायतका उपसमितिहरू पनि गठन गरेको छ ।
नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

बैठकले इलाम र पाँचथर शाखाको विवादलाई स्थलगत भ्रमणसमेत गरेर सहमतिमा टुंग्याउन र ताप्लेजुङको गुनासो पनि सुनुवाई गर्न क्षेत्रीय संयोजक र सहसंयोजकसहित तीन सदस्यीय समितिलाई जिम्मेवारी सुम्पिएको छ । अन्य क्षेत्रमा रहेका विवादको समाधान एवं अधिवेशन सम्पन्न गराउन समन्वय र पहल गर्ने जिम्मेवारी पनि सम्बद्ध क्षेत्रीय संयोजक र सहसंयोजकलाई सुम्पिएको छ ।

महासंघका केही जिल्ला शाखाहरूमा सदस्यतालगायतका विषयमा गुनासो गरी शाखा कार्यालयहरुमा ताला लगाइएकोप्रति बैठकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्