संविधानको व्याख्या गर्ने बेला होईन—नेपाल



धन बस्नेत,पोखरा ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले चुनावको लहर छाईसकेको अवस्थामा अहिले संविधान संशोधनको बारेमा व्याख्य गरेर बस्ने समय नभएको बताएका छन् । ‘चुनाव आईसक्यो । यो बेला संविधानको व्याख्या गरेर बस्ने बेला होईन ।’ उनले प्रेसर चौतारी नेपाली कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने—‘चुनावपछि मात्रै संविधान संशोधन बारे छलफल गर्न सकिन्छ ।’

उनले स्थानीय तहको चुनाव नभए विद्रोह हुन सक्ने संकेत गरे । नेता नेपालले जुन पार्टी चुनावको विरुद्धमा उत्रिन्छ त्यसको विद्रोहमा जनता उत्रने चेतावनी समेत दिए । ‘जनता चुनावको प्रतिक्षामा छन् । चुनावमा नजाने पार्टी विरुद्ध विद्रोहमा जाने मनस्थिति जनताले बनाईसकेका छन् ।’ उनले भने—‘चुनाव नगर्ने षडयन्त्र गरिएको छ भने त्यसको चर्को मूल्य चुकाउनुपर्छ ।’

मधेसी नेताहरु आफ्नै जनताको भोट नपाउने होकी भन्नेमा शंका रहेकाले अनेक बहानामा स्थानी तहको निर्वाचनलाई रोक्न खोजिरहेको उनको भनाइ रहेको थियो । चुनावी सरगर्मी हिमाल र पहाडमा भन्दा बढी तराईमा बढेको भन्दै नेता नेपालले मधेशवादी दल पनि चुनावबाट नभाग्ने स्पष्ट पारे । ‘जनमतको कदर गर्ने पार्टी चुनावबाट भाग्दैन् ।’ उनले भने—‘तराईको जनमतलाई ध्यानमा राखेर मधेशवादी चुनावमा आउँछन् ।’

प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार नै निर्वाचन भएको भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउने नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचनवाट मधेशवादी दलहरु डराएर जनताबाट भाग्लान जस्तो आपूmलाई नलागेको जिकिर गरे । उनले निर्वाचनमा उमेदवार छनौट गर्दा मेरो तेरो र गुटको भन्दा पनि उमेदवारकौ लोकप्रियतालाई आधार बनाउने बताए ।

नयाँ शक्तिले चुनाव चिन्ह नपाएको प्रसंगमा नेता नेपालले ढिलो निर्णयको परिणाम नयाँ शक्तिले भोगेको बताए । ‘अब बावुराम भट्टराइलाई स्वतन्त्र ढंगले चुनाव लड्नुपर्छ ।’ उनको सुझाव थियो—‘समयमै निर्णय नगरेपछिको दोष आफैंले लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्