पहिलो पाइलामा नै ‘प्रवेश परीक्षा’ को बोझ



हेटौंडा,(नेस) ।

घरबाट हात समातेर टुकुटुकु हिँडाएर शिशु कक्षामा स्वागत गर्नुपर्ने कलिला बालबालिकालाई विद्यालय प्रवेशको पहिलो पाइलामा नै ‘प्रवेश परीक्षा’ का नाममा मानसिकरुपमा बिक्षिप्त बन्न बाध्य बनाइँदै बनाइँदै छ ।

कलिला बालबालिकालाई विद्यालयले यसरी बोझ दिएर विद्यालय भनेकै यसरी ‘परीक्षा’ दिइरहनुपर्ने ठाउँ हो भन्ने गलत भावना पाल्न वाध्य बनाइनु कतिको जायज होला ? यस विषयमा न अभिभावक खुलेर बोलेका छन्, न त सरकारी निकाय नै । सरकारी निकाय त झन थाहा नै नपाए झैं गरी मौन छ ।

विदेशमा अनुत्तीर्ण गर्न नभएर बच्चाको वौद्धिक क्षमता मापन गर्न ‘टेष्ट’ लिने प्रचलन छ । यहाँ भने अझ पनि विद्यार्थी र अभिभावकलाई लाम लगाएर प्रवेश परीक्षा लिने प्रचलनले बढावा पाउँदै गएको छ ।

विद्यालय प्रवेशको पहिलो खुड्किलो अर्थात् शिशु वा कक्षा १ मा नै विद्यार्थीलाई विद्यालय गएर हाँस्दै अनि खेल्दै सिक्न पाउने अधिकारबाट रोक्ने प्रवृत्ति खास गरी संस्थागत विद्यालयमा मौलाउँदै गए पनि खासै दबाब दिइएको पाइँदैन ।

हेटौंडाका नाम चलेका कतिपय स्कुलले भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिका भर्ना गर्नुअघि परीक्षा लिन थालेपछि यसले बाल मष्तिष्कमा पार्ने प्रभावबारे अब केही बृत्तमा प्रश्न उठ्न थालेको छ । स्कुले जीवनको प्रवेशविन्दुमै बालबालिकालाई ‘परीक्षा’ सामना गर्न लगाएर असफल देखाइँदा मनोवैज्ञानिक असर पर्ने विज्ञहरुको धारणा छ ।

शिक्षा नियमावलीमा माथिल्लो तहमा तल्लो तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा भर्ना लिने भनिए पनि विद्यालय प्रवेशका नाममा कक्षा १ मा प्रवेश परीक्षाको व्यबस्था गरेर सिक्न, केही जान्न र केही बुझ्न विद्यालय प्रवेश गर्न चाहने कलिला मष्तिष्कमा कडा प्रहार गर्ने प्रचलन मौलाएको छ । जबकि, नियमाबलीमा यस्तोे परीक्षाको कल्पना नै गरिएको छैन ।

तर, हेटौंडाका अधिकांश संस्थागत विद्यालयले प्रवेश परीक्षामार्फत् आफूलाई आवश्यक क्षमता भएका वा संख्यामा विद्यार्थी भर्ना गरी अन्यलाई अघोषितरुपमा ‘अयोग्य’ ठह¥याइदिने गरेका छन् ।

‘हेटौंडामा नाम चलेका यस्ता विद्यालय छन्, जहाँ सजिलोसँग हाम्रा बाबुनानी पढ्न पाउँदैनन्’, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले भनिन्– भर्खर आमाको काखबाट छुटेर विद्यालय गएका बच्चालाई विद्यालय छिर्नुअघि नै परीक्षा लिने कार्य उचित होइन । यसले कलिला बालबालिकाको दिमागमा नराम्रो असर पर्न जान्छ ।

विद्यालय आफैं विद्यार्थी बटुल्न घरघर जाने तर, भर्ना गर्नुअघि सशुल्क फाराम भर्न लगाएर परीक्षा लिने प्रवृत्ति रहेको भन्दै सापकोटाले यस्तो अवस्था अन्त्य गर्न नियमनकारी निकायले चासो राख्नुपर्ने बताइन् ।

संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन मकवानपुर अध्यक्ष मदन दाहालका अनुसार कतिपय विद्यालयमा विद्यार्थीको चाप बढी हुने र विद्यार्थी भर्ना क्षमता सीमित हुने हुँदा प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताए । ‘सीमित सिटमा भर्ना गर्दा सकेसम्म राम्रा विद्यार्थी आउन् भन्ने हुन्छ’, उनले निर्धक्क भने– अरु विद्यार्थीलाई पाखा लगाउनुपर्ने बाध्यता नै हो । यसले बालमनोविज्ञानमा असर त गर्ला नै ।

हेटौंडाको नवोदय बोर्डिङले १ देखि ३ कक्षासम्मका विद्यार्थी प्रवेश परीक्षामार्फत् ‘भर्नाका लागि योग्य’ छानिसकेको छ । बोर्डिङका संयोजक दीपेश जोशीका अनुसार चैत ५ गतेको प्रवेश परीक्षामा चार सय विद्यार्थी सहभागी भएकोमा एक सय २० जनालाई मात्र छानिएको छ ।

४ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीको प्रवेश परीक्षा चैत २६ गते लिने विद्यालयको तयारी छ । विद्यालयमा विद्यार्थीको चाप बढी भएकाले प्रवेश परीक्षामार्फत् छान्नुपर्ने बाध्यता रहेको जोशीले बताए । विद्यालयले प्रवेश परीक्षा शुल्क सबै तहका विद्यार्थीका लागि दुई सय रुपियाँ लिइरहेको छ ।

सरकारले आवेदन फारामका लागि २५ रुपियाँ र प्रवेश परीक्षाका लागि एक सय रुपियाँसम्म लिन पाउने नियम बनाएको भए पनि यहाँका विद्यालयले आफूखुशी शुल्क लिएको पाइएको छ । प्याब्सन अध्यक्ष दाहालका अनुसार शुल्क कार्यान्वयनमा नियमनकारी निकायले कुनै निर्देशन नदिएकाले केही विद्यालयले तोकिए भन्दा बढी शुल्क लिएको हुनसक्ने बाए । बढी शुल्क लिएसँगै विद्यार्थीलाई दिने सुविधासमेत बढाएको उनको दाबी छ ।

हेटौंडामा नाम चलेको जीएस निकेतनले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको प्रवेश परीक्षा तयारी गरेको छ । चैत २७ गते प्रवेश परीक्षा लिने तयारी भएको प्रिन्सिपल ईश्वर लामिछानेले जानकारी दिए । भर्ना हुन चाहने विद्यार्थीलाई राख्नसक्ने संरचना नभएका कारण प्रवेश परीक्षामार्फत् छान्नुपर्ने बाध्यता रहेको उनको तर्क छ ।

रिलायन्स बोर्डिङ स्कुलले भने विद्यार्थीले भर्ना हुन चाहेको कक्षाका लागि सामान्य जान्नुपर्ने कुरा जानेको छ वा छैन भन्ने जान्नका लागिमात्र प्रवेश गरीक्षा लिने गरिएको जनाएको छ । सञ्चालक केशव तौजलेका अनुसार भर्ना हुन आएका विद्यार्थीको प्रवेश परीक्षा लिइए पनि सबै विद्यार्थीलाई भर्ना लिने गरिएको छ । विद्यार्थीको क्षमता जाँचेर अभिभावकलाई परामर्श दिन सजिलो हुने भएकाले परीक्षा लिइएको उनको स्पष्टोक्ति छ ।

मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्माले कक्षा १ भर्ना गर्नुअघि लिइने प्रवेश परीक्षाले बाल मष्तिष्कमा नराम्रो असर गर्नेे बताए । ‘अनुमति लिएर यस्तो कार्य गरिएको होइन ।

यस विषयमा गुनासो वा उजुरी आएका छैनन्,’ कार्यालय अनभिज्ञ रहेको झैं गरी उनले ‘यदि यस्तो भइरहेको हो भने यसलाई हटाउन बहस र छलफलको विषय बनाउनु जरुरी रहेको’ भन्दै उनी पन्छिए । बाल मानसिकतामा प्रभाव नपर्ने गरी विद्यालयले प्रवेश परीक्षाको साटो अन्य विकल्प रोज्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्