बहादुर भवनका कुरा



अहिले मुलुकमा स्थानीय चुनावको चर्चा उचाइमा छ। स्थानीय चुनावको चर्चाले गाउँवस्ती सबैतिर एक खालको रौनक बढिरहेको धरहराले देखेको छ। केहीले चुनावमा नजाने भनेर निहुँ खोजिरहे पनि जनता भने जसै गरी मताधिकार प्रयोग गर्न पाउनुपर्ने कुरा गरिरहेका छन्।

चुनावको कुरा गर्दा निर्वाचन आयोगका केही भूमिकालाई लिएर भने त्यहाँभित्र पनि चुनाव हुन दिनु हुँदैन भनेर केही तत्त्व लागेका हुन् कि भन्ने आशंका उत्पन्न हुन थालेको छ। आयोगले बेलाबेलामा गरेका हर्कतको कारणले आशंका जन्मिएको हो। कहिले विधानमा राखेको विचार मिलेन भनेको छ। कहिले मागेको निर्वाचन चिन्ह दिन्न भनेको छ। किन यो अनावश्यक द्वन्द्व निम्त्याउने काम गरेको होला ? हुनत स्थानीय निकाय निर्वाचन ऐनमा व्यवस्था भएअनुसार नै कानुन समाएर आयोगले काम गरेको देखिन्छ। तथापि दलको विचार सही छ कि छैन जनताले चुनावकै बेलामा मूल्यांकन गरिहाल्छन् नि। अनि चिन्हमा पनि किन टाउको दुखाइरहनु ? अरूसँग जुध्ने चिन्ह छैन भने जसले जे माग्छ उसलाई त्यही दिएर पठाइदिए भइहाल्यो। चुनाव चिन्ह भनेको दिएन भनेर हिजो बाबुराम भट्टराई जुलुसमा निस्कदा मामा घर लगिएको धरहराबाट देखियो।

संविधान सभा नै बहिस्कार गरेको पार्टी वैद्य माओवादी अहिले स्थानीय चुनावमा जान्छु भनिरहेको छ। तर, चिन्ह भनेको नदिने भनेर किन रोक्नुपर्यो ?अरूसँग चिन्ह जुद्धैन भने दिएर पठाइदिए भइहाल्यो । ऐन नै गलत छ भने त्यसलाई संशोधन गर्नुपर्यो। किन यो अनावश्यक द्वन्द्व निम्त्याउन खोजेको होला भनेर धरहरावरपर भन्नेहरू बढेका छन् है। बहादुर भवनवालाहरूले ध्यान दिने हो वा अरूले चाँडो ध्यान दिऔं। नत्र चुनाव विथोल्न आयोग आफैं लागेको आरोप लाग्ला नि !

प्रतिक्रिया दिनुहोस्