बालबालिकाको पढाइप्रति रुचि नहुनुको कारण



केशव अधिकारी
आजको परिवेशमा कक्षा १० सम्म पढ्दै गरेका हरेक बालबालिकाका अभिभावक निकै दिग्दारिएका पाइन्छन्। यसरी दिग्दारिनुको खास कारण आफूले उनीहरूको शिक्षाको लागि गरेको खर्चको तुलनामा उनीहरूको शिक्षा आर्जन सन्तुष्टिजनक नहुनु हो। आजका १० कक्षासम्मकै अधिकांश स्कुले बालबालिकालाई आफ्नो पढाइ लुतोझैँ चिलाउने भएको छ। यसले गर्दा उनीहरूका अभिभावक मात्र होइन, सरकारी विद्यालयका शिक्षक र केही मात्रामा निजी विद्यालयका शिक्षकसमेत चिन्तित भएको पाइन्छ।

जाडो मौसममा घाममा बसेर पढ्न पाए रमाउने बालबालिकालाई कक्षाको चार दिवारभित्र थुनेर पढाइँदा उनीहरूको ध्यान पढाइप्रति भन्दा पनि न्यानो घामप्रति बढी आकर्षित हुन पुगेको देखिन्छ। अनि थुनेर सिकाउने शिक्षकप्रति क्रोधको भाव उत्पन्न हुने गरेको पाइन्छ। यसले पनि विद्यार्थीको पढाइप्रति बेवास्ता बढेर जाने गरेको छ। गर्मी महिनामा शीतल वातावरण रुचाउने भए पनि विद्यालयको टहरे कक्षाको परिवेशमा त्यो सम्भव हुन नसक्दा उनीहरूप्रति क्रोधको भावना जाग्ने हुनाले पढाइप्रतिको कामलाई बेवास्ता गर्दछन् र अन्य रमाइला गफमा मस्त हुन पुग्दछन्।

केटाकेटीको पढाइप्रतिको बेवास्ताका अन्य कारणहरू पनि छन्। अग्रजहरूको पढाइको किनुवा प्रमाणपत्र, त्यसका आधारमा काम खोज्दा पाएको दुःख, अनि विदेशतिरको यात्राको तयारीमा लाग्दाका पीडादेखि लिएर वैदेशिक रोजगारीमा गइसकेपछि पाइने पीडाका कथाले पनि बालबालिकामा नकारात्मक प्रभाव परी पढाइको महत्वलाई घटाएको पाइन्छ। पढाइ महत्वहीन वस्तुको रूपमा देखिएपछि पढ्न ध्यान नजानु स्वाभाविकै हो।

आजका शिक्षकहरू पनि कक्षामा प्रवेश गरेपछि विद्यार्थी हौसला जगाउनुको सट्टा उनीहरूका इच्छा, चाहना वा रुचिको बेवास्ता गर्दै आफ्ना बासी र सडेगलेका सिकाइ पद्धति सुनाउन लालयित बनेको देखिन्छन्। त्यस प्रयोजनका लागि चक र डस्टरसँगै छडी बोकेको देख्न पाइन्छ। यो क्रम सरकारीभन्दा अधिक निजी विद्यालयको हकमा लागु हुने गरेको छ। पाठ्यपुस्तकको सिकाइमा भन्दा बालबालिकाको ध्यान खेलाइमा बढी जान खोज्छ भने उनीहरूको घरायसी परिवेशमा पनि लेखेर गर्ने गृहकार्य भए जेनतेन लेख्लान् तर पढाइको गृहकार्यलाई पूर्णरूपले बेवास्ता गरेको र धेरैजसो समय खेलेरै बिताएको पाइन्छ। अलि माथिल्लो अर्थात् ७–८ कक्षाका विद्यार्थीले अभिभावकको मोबाइलमा गेम खेल्छन् भने तल्ला कक्षाका बालबालिका टेलिभिजनमा ध्यान दिने र बाँकी समय बाहिरी खेलहरू खेलेरै बिताउने गर्दछन्।

अहिले विद्यालय तहको वार्षिक परीक्षा पूरा भएर नयाँ भर्नाको माहोल बन्दै गरेको छ। अबका केही दिनसम्म नयाँ कक्षामा भर्ना भएका बालबालिकाले उच्च कक्षाका नयाँ⁄पुराना पाठ्यपुस्तक ल्याएर हेर्ने र चाखिला पाठहरूको विश्लेषण गर्ने गर्दछन्। जब सबैजसो बालबालिकाका पाठय्पुस्तक आइसक्छन् तबसम्म अलि पहिले किताब खरिद गर्ने बालबालिकाका लागि पाठ्यपुस्तक नै आकर्षक लाग्न छोडेर सामान्य लाग्न थालिसकेको हुन्छ।

त्यति मात्र भए त केही थिएन, पूरा वर्ष दिनसम्म तिनै पाठको घोकाइ र भुलाइले विद्यार्थीलाई वाक्क बनाइसकेको हुन्छ। अन्य कुनै मनोरञ्जनात्मक काम गर्ने अवसरै नदिई उनीहरूको दिमाग पुनर्ताजगी गराउनै सकिँदैन। दिमाग ताजगी नभई पढ्न मन लाग्ने कुरै भएन। त्यसमाथि हाम्रो पढाइको तरिका ज्यादै लामो र बोझिलो रहेको छ। आज विश्वमा भए⁄गरेका वैज्ञानिक उन्नतिका सन्दर्भहरू पनि धेरैजसो बालबालिकाले पत्ता पाउँदै गरेका हुन्छन्। वैज्ञानिक दिमाग लिएर जन्मेको बच्चाको लागि त घोकन्ते पढाइ अर्थहीन लाग्नु स्वाभाविकै हो। यस्तो अवस्थामा पनि बालबालिकाले पढाइप्रतिको बेवास्ता कायम राख्छन। आज हरेक अभिभावकले आफ्ना र फलानाका सन्तानका फरकपनबारे कुरा गरेको सुनिन्छ। कति अभिभावकले फलानाका सन्तानको कमाइ र आफ्ना सन्तानको कमाइमा जमिन र आकाशको जत्तिकै दूरी रहेको कुरा आफ्ना पढ्दै गरेका छोराछोरीलाई सुनाएका हुन्छन्। यसरी पढाइको तुलनामा धन–सम्पत्तिको महत्व गाउन थालेपछि ती छोराछोरीले पनि शिक्षालाई जाबो शिक्षाको रूपमा र धनलाई अधिकाधिक मूल्यवान् वस्तुको रूपमा महत्व दिएको पाइन्छ। यो पुँजीवादी मानसिकताले गर्दा हामीले जतिसुकै राम्रो र महत्वपूर्ण शिक्षा हासिल गरौँ तर धन छैन भने कङ्गाल नै बन्न विवश बन्नुपर्ने कुरा महसुस गराएको हुन्छ।

पढाइ र सिकाइ आफैंमा प्राविधिक विषय हो। विद्यालय तहको वातावरणमा विभिन्न खालका बालबालिका जम्मा भएका हुन्छन्। ती साराको दिमागी चाल र मनको इच्छालाई बुझेर तदनुसारको सिकाइ अभ्यासमा लगाउन सकियो भने मात्रै शिक्षक र विद्यार्थी दुवै सफल हुने कुरा निर्विवाद छ। तर हाम्रो देशमा जुन र जसको नेतृत्वको सरकार बने पनि शिक्षा क्षेत्रको दलाली कायम रहेको छ। सरकारकै यो दाललीले गर्दा आमबालबालिकालाई परोक्षरूपमा असर पुगेको छ। विगतमा करिब २० वर्षको अन्तरालमा खोलिएको र त्यसपछिका दिनमा निरन्तरता दिएको शिक्षक आयोगबाट छानिएर गएका केही हजार शिक्षकले विद्यालयस्तरको पढाइको बाटोलाई सुधार्न सक्लान् कि भन्ने अपेक्षा गरिएको थियो तर ती पनि चामलका बियाँजस्तै भएर हराएर गए। अनि हाम्रो शिक्षा क्षेत्र झन्–झन् डामाडोल बन्दै जान थालेको छ। यसलाई सुधार्नको लागि तल्ला कक्षादेखि नै सैद्धान्तिक सिकाइको ठाउँमा प्रयोगात्मक सिकाइ गर्न सके सुधार हुने अपेक्षा राख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्