कोलम्बियामा भीषण पहिरो, २ सय ५४ को मृत्यु, सयौं बेपत्ता



मोकोआ, (एजेन्सी)
दक्षिणी कोलम्बियामा शनिबार बिहान सबेरै गएको डरलाग्दो पहिरोका कारण कम्तिमा २ सय ५४ जनाको मृत्युभएको छ भने अन्य सयौं संख्यामा घाइते र बेपत्ता भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।

पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै शरणार्थीका रूपमा कोलम्बिया आएका बाढीपिडित पनि यस पहिरोमा परेका छन्।
दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजारँैं घर, पुल, सवारी साधन तथा रुखहरू ढलाएको तथा बगाएको छ। करिब १ हजार १ सय जना सेना र प्रहरी उद्धार कार्यमा संलग्न रहेको सरकारी सूत्रले जनाएको छ।

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिएका छन्।

उनले घटनाबाट प्रभावित क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धाञ्जलि र पीडितप्रति सहानुभूति व्यक्त गरेका छन्।

स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले यसलाई अकल्पनीय दुःखदायी घटनको संज्ञा दिएका छन्।

उनले स्थानीय एक रेडियोसँग भनेका छन्,‘सयँैं व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौं, सँगसँगै भएका सबै छुट्टिएका छन्।’

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान माक्र्वीजले मोकोआ नदीमा पानीको सतह बढेर पहिरो आएको जानकारी दिएका छन्। विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको पनि उनले बताएका छन्।

यसै गरी राष्ट्रपति सान्तोषले त्यो नदीमा विगतमा पनि बेलाबेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरि बस्नेहरूलाई सतर्क रहन भनिए पनि गए राति एक्कासि बाढी आएको बताएका छन्। उनले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त नगरमा बिजुली, पानी, फोनलगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरू पहिरोले बगाएको बताइएको छ।

कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौंको मृत्यु हुने गरेको छ। सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको मौसम तथा जलवायु विभागका अधिकारीहरूले जनाएका छन्।
खराब मौसम जारी रहेको तथा भत्किएका संरचनाका कारण खोजि तथा उद्धार कार्यमा कठिनाइ भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्