घाइतेलाई उपचारको माग गर्दै अनिश्चित्कालीन यातायात बन्द



दीपेन्द्र शर्मा, जाजरकोट
बस दुर्घटनाका घाइतेहरूको उपचारको माग गर्दै अनिश्चित्कालका लागि जाजरकोटमा यातायात गरिएको छ। गत फागुन २६ गते यात्रुबाहक बस भेरी नगरपालिका–४ बोहरामा भएको दुर्घटनाका घाइतेको उपचारमा ध्यान नदिएको तथा मृत्यकका आफन्तलाई राहत नदिएको भन्दै पीडितका आफन्तले अनिश्चित्कालका लागि यातायात बन्द गरेका छन्।

जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन ठप्प भएपछि जाजरकोटका स्थानीयह मर्कामा परेका छन्। गत फागुन २६ गते जाजरकोटको सदरमुकाम खलंगबाट पश्चिमको छेडागाड नगरपालिका–१ खारासम्मका लागि छुटेको ना३ख २२७९ नम्बरको बस छिन्चु–जाजरकोट सडक अन्तर्गत भेरी नगरपालिका–४ बोहरामा दुर्घटना भएको थियो। दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो। ३५ जना घाइते भएका थिए। तीमध्ये २९ जनाको सफल उपचारपश्चात आ–आफ्नो घर फर्किसकेका छन्। बाँकी ६ जना भने उपचारत रहेका छन्।

बस दुर्घटनामा घाइते भएका भेरी नगरपालिका–११ का सन्तोष मल्ल र भेरी नगरपालिका–१२ का प्रताप गिरी टिचिङ हस्पिटल काठमाडौंमा रहेका छन्। यसै गरी नेपालगन्ज बाँकेको मेडिकल कलेजमा जुनीचाँदे गाउँपालिका–१ का टोपबहादुर चन्द र तुले तिरुवा रहेका छन्। यस्तै उपचारकै क्रममा भेरी अञ्चल अस्पताल नेपालगन्ज बाँकेमा छेडगाड नगरपालिका–८ का डिला दमाईं र बीएन्डबी हस्पिटल काठमाडौंमा भेरी नगरपालिका–१३ का सुजन गिरीको उपचार भइरहेको छ।

घाइतेलाई उपचार गर्नमा विलम्ब गरेको तथा मृत्यकका आफन्तलाई राहत नभएको भन्दै घाइतेका आफन्तले आइतबारदेखि जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका सवारीसाधन चल्नमा रोक लगाएको घाइतेका आफन्त एवं संघर्ष समितिका संयोजक दलवीर गिरीले बताए।

घाइतेको शीघ्र उपचारको व्यवस्था तथा पीडितलाई तत्काल राहत उपलब्धताका बारेमा सम्बन्धित सरोकारवालालाई बोलाएर छलफल गरी समाधान निकाल्ने जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्