कर्मचारी र आयातकर्ताको मिलोमतोमा भन्सार छली



यमलाल भुसाल, बुटवल
रहवा भन्सार कार्यालय बेलहियामा कर्मचारी र आयातकर्ताको मिलोमतोमा भन्सार छली हुने गरेको रहस्य सार्वजनिक भएको छ। गुणस्तरीय सामानलाई कम गुणस्तरीय देखाउने र आयात गरिएको सामानमा समेत कम परिणाम देखाई कर्मचारी र आयातकर्ताले आफूलाई फाइदा गराई भन्सार छली गर्ने गरेका छन्।

यसरी कम परिणाम र कम गुणस्तरको देखाई भैरहवा भन्सार कार्यालयबाट भन्सार जाँचपाच भएका ट्रकसहितका सामान पछिल्लो समय दैनिकजसो राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको कारबाहीमा पर्न थालेपछि उक्त तथ्यको रहस्य सार्वजनिक भएको हो। यही चैत १३ मा ना४ख २४५५ नम्बरको दिल्ली–काठमाडौं बसलाई राजस्व अनुसन्धानले भैरहवा भन्सार अगाडिबाट नियन्त्रणमा लियो। दिल्लीबाट काठमाडौं जान लागेको उक्त बसमा यात्रुको अलवा ठूलो परिणाममा कपडा थियो।

बसलाई बुटवलमा लगेर अनुसन्धान गर्दा भन्सारमा २ लाख ५० हजार मूल्य बराबरको सामानको मूल्यांकन गरी ७५ हजार मात्र भन्सार बुझाइएको थियो। गुम्बामा प्रयोग हुने धुप, ब्रान्डेड र महँगो पर्ने कुर्ता, जुत्ता, कमिज, ब्रा, लेडिड टिसर्टलगायतका सामानलाई भन्सारमा साधारण कपडाको दर्जामा राखेर मूल्यांकन गरिएको थियो भने सबै सामानको जाँच गरेर भन्सार महसुलसमेत लिइएको थिएन।

कम गुणस्तर र परिणाम छलेर भन्सार भएका कपडासहितका सामानलाई राजस्व अनुसन्धानले ६ लाख ५ हजार जरिवाना गर्यो। अझै केही सामानहरू कसैले पनि स्वीकार नगरेपछि लिलामका लागि राखिएको छ। ‘लाखौं मूल्यका सामानलाई कम परिणाम र कमसल देखाएर भन्सार छली भएको भेटिएपछि हामीले काररबाही गरेका हौं’, राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख एवं प्रमुख राजस्व अनुसन्धान अधिकृत नरेन्द्रप्रकाश पाण्डेले भन्नुभयो– ‘बसमा ल्याइएको सामान यात्रुको नभई केही सीमित व्यापारीको थियो।’

यो एउटा भन्सारको यात्रु शाखाबाट हुने भन्सार छलीको उदाहरण मात्र हो। यसबाहेक भैरहवा भन्सार कार्यालयबाट जाँचपास भएर आएका अधिकांश मालवाहक ट्रकहरूमा समेत यस्तै समस्या देखिएको छ। यही माघ र फागुनमा मात्र भैरहवा भन्सार कार्यालयबाट जाँचपास भएका ४५ वटा ट्रक राजस्व अनुसन्धानको कारबाहीमा परेका छन्। माघमा १५ र फागुनमा ३० वटा ट्रकलाई कारबाही गरी राजस्व अनुसन्धानले ३२ लाख ९९ हजार राजस्व संकलन गरेको छ।
शंकास्पद र नियमित चेकजाँचका क्रममा राजस्व अनुसन्धानमा ल्याई कारबाहीमा पर्ने धेरैजसो ट्रकहरूमा गुणस्तरीय सामानलाई कम गुणस्तर र कतिपय सामानहरूको प्याकेटमा रहेको उत्पादन मूल्य मेटाइएका सामानहरू हुन्छन्।

प्रतिक्रिया दिनुहोस्