चैतको धूपमा पनि जलेको घरमा बास



नरेन्द्र केसी, घोराही, दाङ
गाउँभन्दा अलि माथि ऐलानी जग्गामा सानो झुपडी छ। छ जनाको परिवार अटाउने यही झुपडी नै उनको महल थियो तर जहाँ पातलो त्यहीं प्वाल पर्छ भनेझैं ऐलानी जग्गामा रहेको गरिबको यही झुपडी पनि जलेर फुसको छानो खरानीमा परिणत भएको छ।

बंगलाचुली गाउँपालिका–२ खाडास्थित दलबहादुर घर्तीको परिवार अहिले बिचल्लीमा परेको छ। सानो छोराले आगो बाल्दा गत फागुन ३० गते घर जलेपछि अहिले घर्तीको परिवार जलेकै घरको तल्लो तलामा बसिरहेका छन्। ‘यत्ति सम्पत्ति थियो, त्यो पनि खरानी भयो’, घर्ती पीडा सुनाउनुहुन्छ– ‘यही जलेको घरमै बसेका छौं, अन्यत्र कहाँ जानु।’ धन्न बिहानमा आगलागी भएकाले गाउँले जम्मा भएर चाँडै आगो निभाउँदा छाना मात्र जलेकाले यो परिवार जलेकै घरमा बस्न सकेको छ।

जलेको घरको चुली गारो भत्कन नदिन खरका मुठा राख्नुबाहेक घरको पुनर्निर्माणका लागि केही प्रयास भएको छ। ‘घरको उत्पादनले तीन महिना खान पुग्दैन, ज्याला मजदुरी गरेर परिवार पालेको छु, घर्ती भन्नुहुन्छ– ‘पैसा भन्नु एक सुको पनि छैन, कसरी घर बनाउनु ?’ जिल्ला प्रशासन ५ हजार र जिल्ला समन्वय समितिबाट १ हजार पाए पनि त्यसबाट घर बनाउन सम्भव नभएको घर्तीको भनाइ छ।

घरमा भएको सबै अन्नपात जलेर नष्ट भएपछि यो परिवारले अहिले छिमेकीसँग मागेर गुजारा चलाइरहेको छ। कसैले सहयोग गरेपछि घर बनाउन सकिने उहाँको विश्वास छ। ‘भूकम्प आउँदा दर्केको थियो, त्यही मर्मत गर्न सकेको थिइनँ’, उहाँले भन्नुभयो– ‘अब त झन् आगो लागेर खरानी भयो, कसैको सहयोग पाइएन भने कसरी घर बनाउन सकिएला र ?’

छिमेकी गाउँ घोराही उपमहानगरपालिका–१९ सैघा बाम्लाका स्थानीय युवाजंग रोकाले घर जलेको एक महिना पुग्न लाग्दा पनि घर पुनर्निर्माणका लागि कसैले पहल नगरेको देखेपछि आफूले पहल अघि बढाउन खोजेको बताउनुभयो। ‘यो सानो घरलाई थोरै मर्मत गरेर टिनको छाना हाल्ने हो भने अहिलेको समस्या समाधान हुने देखिन्छ’, उहाँले भन्नुभयो– ‘मैले यो परिवार बिचल्लीमा परेको छ भन्ने सुनेको थिएँ, आफैं घरमा गएर भेटघाट गरेको छु, घर पुनर्निर्माणका लागि सबैको सहयोग आवश्यक छ, यसको समन्वय गर्न म तयार छु।’

कक्षा प्रथम छोरा भारतमा कुल्ली
घर्तीका चार जना साना छोराछोरी छन्। जेठो छोरा भर्खर १५ बर्ष पुग्दै छन् तर उनी कमाइ गर्न दुईपटक भारत गइसके। ‘जेठो छोरा शिव कक्षा ७ सम्म लगातार प्रथम भइरहेको थियो, मैले जसरी पनि पढाउँछु भनेको थिएँ तर ऊ पोहोर सालदेखि नै कालापार जान थाल्यो’, घर्तीले पीडा पोख्नुभयो– ‘घरमा खान पुग्दैन, भाइबैनी साना छन् भन्ने लागेर त होला, हामीले पढ्नुपर्छ भन्दाभन्दै छोरा भारत जान थाल्यो।’

आफ्नो जीवन गरिबीमै बिते पनि छोरालाई पढाउने सपना पनि अधुरो रहेकोमा घर्तीका चिन्ता छ। ‘छोराछोरी पढाउँला भन्ने लागेको थियो तर त्यस्तो वातावरण दिन सकिएन’ –गरिबीको पेटारो खोल्दै उहाँले भन्नुभयो। २०५२ सालमा प्युठान कोचिवाङबाट बसाइँ सरेर आएका घर्तीले लामो समयसम्म घोराही क्षेत्रमै मजदुरी गरेर परिवार पाल्नुभयो। परिवारको संख्या बढ्दै गएपछि बजारमा धान्न नसकिने देखेर साविक स्युजाको यो ठाउँमा ऐलानी जमिनमा घर बनाएर बसेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्