गच्छदारले पनि ‘मधेसी’ शब्द फाल्दै



बीपी साह, काठमाडौं
पहिलो मधेस आन्दोलनबाट मधेसी नेताका रूपमा अगाडि आएका उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फाल्दै संघीय समाजवादी फोरम नेपाललाई राष्ट्रिय पार्टी बनाएको दाबी गरेपछि विजय गच्छदारले पनि आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फाल्दै राष्ट्रिय पार्टी बनाएको उद्घोष गर्नुभएको छ।

यादवले आफू पहिले आबद्ध रहेको नेकपा एमालेबाट बाहिरिएका पूर्वएमालेहरूलाई समेट्दै राष्ट्रिय पार्टी बनाएको दाबी गर्नुभएको छ भने गच्छदारले पनि आफू पहिले आबद्ध रहेको नेपाली कांग्रेसबाट बाहिरिएका नेताहरूलाई समावेश गरी राष्ट्रिय पार्टी बनाएको दाबी गर्न लाग्नुभएको छ।

मधेसी जनअधिकार फोरम नेपाल नामक गैरसरकारी संस्थालाई उपेन्द्र यादवले पार्टीका रूपमा परिवर्तन गर्नुभएको थियो। पहिलो मधेस आन्दोलनपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट जितेको थियो। पाँच वर्षको अवधिमा फोरम नेपाल तीन टुक्रा भयो। विजय गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन भयो भने जेपी गुप्ताको नेतृत्वमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन भयो। दोस्रो संविधानसभाको निर्वाचनपछि संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर उपेन्द्र यादवले पार्टीबाट ‘मधेसी’ शब्द फालेर संघीय समाजवादी फोरम नेपाल बनाए।

यादवले आदिवासी जनजातिहरूसँग सहकार्य गरेर राष्ट्रिय पार्टीको स्वरूप दिन खोज्नुभयो। सोही लाइनलाई पछ्याउँदै विजय गच्छदारले पनि आफ्नो पार्टीलाई राष्ट्रिय स्वरूपको बनाउन ‘मधेसी’ शब्द फाल्न लाग्नुभएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीका सहसंयोजक महेश कर्मोचासहित दर्जनौं केन्द्रीय नेताहरू गच्छदार नेतृत्वको पार्टीमा प्रवेश गरेपछि पार्टीको नाम परिर्वतन हुने भएको छ। आइतबार पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष गच्छदारले पार्टीको नयाँ नाम उद्घोष गर्नुभएको छ। मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट नाम परिर्वतन गरी नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। तर, औपचारिकरूपमा नाम परिवर्तन गर्न केही समय लाग्ने गच्छदारले बताउनुभयो।

एक महिनाअघि विजय गच्छदार नेतृत्वको पार्टीका उपाध्यक्ष दानबहादुर चौधरीलाई बाबुराम भट्टराईले आफ्नो पार्टीमा भित्त्याउनुभएको थियो। त्यसको बदलामा गच्छदारले पनि बाबुरामको पार्टीका सहसंयोजकलाई आफ्नो पार्टीमा भित्रियाएको केन्द्रीय सदस्य कपिलेश्वर यादवले बताउनुभयो। उहाँले केही दिनभित्रै अन्य पार्टीका नेताहरू पनि पार्टीमा प्रवेश गर्न लागेको बताउनुभयो।

आइतबार तामझामका साथ बृहत् पार्टी प्रवेश कार्यक्रम राखेको फोरम लोकतान्त्रिकले नयाँ शक्तिबाट कर्मोचासहित सचिवालय सदस्य सोनाम छिरिङ शेर्पा, देव लिम्बु र सीता श्रेष्ठलाई पार्टीमा भित्त्याएको छ। त्यस्तै लुम्बिनी विश्वाविद्यालयका पूर्वउपकुलपति केदार शाक्यसहित ३० जना केन्द्रीय परिषद् सदस्यहरू गच्छदारको पार्टीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्