६४ तोला सुन चोरीमा प्रहरी नै संलग्न



काठमाडौं, (नेस)
मरुहिटीस्थित प्रेमरत्न शाक्यको घरबाट ६४ तोला सुन चोरीमा संलग्न रहेका बहालवाला प्रहरी जवानसहित ६ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ। शाक्यको घर भाडामा लिई सुनको विभिन्न डिजाइनका गहना बनाउँदै आएका शिवप्रसाद माइटीलाई लुटेराहरूले अवैध सुनको कारोबार हुने गरेको भन्दै हतकडी र पेस्तोल देखाएर लुटपाट मच्चाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो।
बिहीबार साँझ उनीहरूले माइटीलाई नियन्त्रणमा लिएर सुन र केही नगदसमेत लुटेर फरार भएपछि महाशाखाले विशेष टोली बनाएर अनुसन्धान शुरू गरेको थियो। सो समूहको खोजी गर्ने क्रममा लुटपाटमा प्रहरीको नै संलग्नता रहेको पाएपछि प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको थियो। प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत प्रहरी जवान अजय गुरुड, टुरिस्ट गाइड सुभास खरेल, ट्याक्सी चालक राजकुमार तामाङ, डान्सर देव तामाङ भन्ने सुन्दर तामाङ, बाउन्सर क्षितिज तामाङ र लाप्साङ तामाङलाई पक्राउ गरेको छ।

सोही लुटपाटका घटनामा संलग्न रहेका प्रहरी हवल्दार बलबहादुर मगर, प्रहरी जवान नवीन ढकाल र हर्कबादुर तामाङ भने फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ। दुई हप्ताअघिबाट उक्त सुन लुट्ने योजना बनाएका लुटेराहरूले सुन रिफाइनरी गर्ने कारखानाको निगरानी शुरु गरेका थिए। हाल फरार रहेका हर्कबहादुर तामाङले पक्राउ परेका राजकुमार तामाङलाई माइटीले अवैध सुनको कारोवार गर्ने गरेको जानकारी गराएका थिए।

फरार प्रहरी हवल्दार तामाङको उक्त रिफाइनरी कारखानाको बारेमा जानकारी गराएपछि राजकुमार तामाङले आफ्नो विश्वासिलो साथी उडल्यान्ड होटलमा बाउन्सरको काम गर्ने लाप्साङ तामाङ, सुन्दर तामाङ, क्षितिज लामालाई सुनको रिफाइनरी कारखानाको बारेमा जानकारी गराएका थिए। लुटपाटका योजना बनाएपछि उनीहरूले टुरिस्ट गाइड सुभाष खरेललाई सुन लुट्ने योजना बारेमा जानकारी गराएका थिए। उनीहरूको योजना मुताविक सुभाष खरेलले प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत प्रहरी जवान नवीन ढकाललाई लुटपाटको योजनाको बारेमा जानकारी गराएका थिए।

पूर्वयोजना मुताविक प्रहरी जवान ढकाल र प्रहरी हवल्दार बलबहादुर मगरले हत्कडीको व्यवस्था गरेका थिए। उनीहरूबीच सुन लुट्ने दिनमा पुनः योजना बनाई मरुहिटीतर्फ अगाडि बढेको प्रहरीको अनुसन्धानले देखाएको छ। सुन लुट्ने योजनासहित गएका उनीहरूमध्ये ६ जना कारखानामा गएको र २ जना रेक्कीका लागि ढोकामा बसेका थिए।

उनीहरूमध्ये ६ जना कारखानामा पुगेर हामी प्रहरी हौं तपाईंको पसलमा अवैध सुनको कारोवार हुने गरेको रहेछ भन्दै सुन र माइटीलाई नियन्त्रणमा लिएका थिए। उनीहरूले सुन लुटेपछि सोह्रखुट्टेस्थित एउटा घरमा गएर सुन सुन्दर तामाङलाई राख्न दिएका थिए। उक्त घटनाको जानकारी पाएको प्रहरीले सुन लुटेराको खोजी गर्ने क्रममा सोहखुट्टेबाट सुनसहित सुन्दर तामाङलाई नियन्त्रणमा लिएपछि अन्य लुटेरा खोज्ने क्रममा प्रहरीसहित ६ जना पक्राउ परेका थिए। अन्य ३ जना फरार भएकाले उनीहरूको खोजी जारी रहेको पनि एसएसपी अमात्यले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्