पूर्व प्रम डा. भट्टराई पक्राउ रिहा गर्दा नमानेपछि प्रहरीले राति हटायो



काठमाडौं, (नेस)
काठमाडौं, (नेस)। निर्वाचन आयोगको कार्यालय घेराउ गर्ने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। चुनाव चिह्नको माग गर्दै आन्दोलनमा उत्रिने क्रममा डा. भट्टराईसहित नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, नयाँ शक्तिकी नेतृ हिसिला यमी, सांसद गंगा चौधरी, पर्शुराम तामाङ, रामकुमार शर्मासहित ७० जना पक्राउ परेका थिए। दलीय चुनाव चिह्न नपाए आन्दोलन सशक्त हुने नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराइले बताउनुभयो।

उनीहरूलाई नेपाल प्रहरी क्लबभित्र राखिएको छ। उता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले माथिको आदेशअनुसार जान अनुमति दिए पनि जान नमानेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सबै नेताहरूलाई जानका लागि हामीले अनुरोध गरिसकेका छौं। तर, नेताज्यूहरूले आफूहरूको माग पूरा नभएसम्म प्रहरी नियन्त्रण भित्रै धर्नामा बस्ने अडान लिनुभएको छ।’

सो पक्राउ प्रकरणमा नेकपा क्रान्तिकारी माओवादीले सरकारले निरंकुशता शैली अवलम्बन गरेको बताएको छ। पार्टीका अध्यक्ष मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ताको विषयलाई लिएर निर्वाचन आयोगमा धर्ना कार्यक्रममा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिनु निरंकुशताको पराकाष्ठा भएको बताएको छ।

प्रहरीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेललगायतका नेतालाई पक्राउ गरेको थियो। डा. भट्टराईलगायतको टोलीलाई प्रहरीले रिहा गरे पनि माग पूरा नभएसम्म नछोड्ने भन्दै उहाँहरू प्रहरी कार्यालयमा नै धर्नामा बस्नुभएको थियो। प्रहरीले राति अबेर उहाँलाई त्यहाँबाट हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्