“निजी सवारीको माग बढ्यो”



नेपाल समाचारपत्र
काठमाडौं
नाडा अटोमाबाइल्स एसोसिएसन नेपालको ४०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा एसोसिएसनको वार्षिक साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै मन्त्री लेखकले राज्यले गर्न नसकेको क्षेत्रमा एसोसिएसनले ठूलो लगानीका साथ राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याएकोमा एसोसिएसनप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अटोमोबाइलसँग सम्बन्धित समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो।

सार्वजनिक यातायातमा उल्लेख्य प्रगति गर्न नसकिएकाले निजी सवारीको माग बढेको भन्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता रहेको मन्त्री लेखकले बताउनुभयो।

एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले सवारी साधनका निम्ति ऋण प्रवाहमा कटौती गरेकाले व्यवसायी, बैंक तथा सरकार सबैलाई असर पुर्याउने बताउनुभएको थियो। कार्यक्रममा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै ३ जना ट्राफिक प्रहरीलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्