सामाखुसीलाई भेट्रान फुटबल उपाधि



काठमाडौं, (नेस)
पूर्वराष्ट्रिय कप्तान सम्मिलित सामाखुसी फुटसल क्लबले शशिकला स्मृति दोस्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सामाखुसीले कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ६–० गोलअन्तरले पराजित गर्यो। टासी छिरिङले ह्याट्रिक गरे भने सरोज थापा, निमा लामा र डिल्लीराम श्रेष्ठले १–१ थप्दै टिमको जित फराकिलो बनाए। सामाखुसीका गोलरक्षक पञ्चनारायण महर्जन ‘म्यान अफ द म्याच’ चुनिए। सो क्लबबाट राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का र राकेश श्रेष्ठले खेलेका थिए।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए। विजेता र उपविजेताको पुरस्कार गत संस्करणको भन्दा दोब्बर हो। प्रतियोगितामा साइनिङका रविन्द्र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताभर ७ गोल गरेका सामाखुशीका सरोजकुमार थापा सर्वाधिक गोलकर्ता बने। दुवैले १०–१० हजार नगद पुरस्कार पाए। नाइट किङ फुटबल क्लब, सानो गौचरणले अनुशासित टिमको उपाधि हात पार्यो।

प्रतिक्रिया दिनुहोस्