पाराग्वे संसद्मा प्रदर्शनकारीद्वारा आगजनी राष्ट्रपति कार्यकाल थप्ने विधेयकको विरोध



असन्स्जोन, (एजेन्सी)
पाराग्वेमा राष्ट्रपतिले पुनः चुनाव लड्न पाउने एउटा विधेयक विरुद्ध भएको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीहरूले देशको संसद् भवनलाई आगो लगाएका छन्।

प्रमुख विपक्षी पार्टीका प्रमुखले एक जना कार्यकर्ता गोली लागेर मृत्यु भएको बताए। प्रदर्शनकारीहरूले संसद्को भवनको ढोका र बार तोडफोड गरेका छन्। पाराग्वेमा ३५ वर्षको तानासाहीको अन्त्य भएपछि सन् १९९२ मा जारी संविधानमा संशोधन गरिएको थियो। उक्त संशोधनअनुसार एकजना राष्ट्रपतिको कार्यकाल मात्र एकपटक पाँच वर्षका लागि हुने राखिएको थियो।

तर वर्तमान राष्ट्रपति होरासियो कार्टसले संविधान संशोधन गरी उक्त व्यवस्थालाई परिवर्तन गर्न चाहेका छन् र पुनः आफू राष्ट्रपतिमा चुनाव लड्न चाहन्छन्।

शुक्रबार राति राष्ट्रपतिको उक्त कदम विरुद्ध प्रदर्शनमा ओर्लेका प्रदर्शनकारीहरूले संसद्को झ्याल तोडफोड गरी भित्र आगो लगाएको तस्वीर सञ्चार माध्यमहरूमा आएको थियो। प्रदर्शनकारीहरूले उक्त विधेयकको समर्थन गर्नेहरूको कार्यालयहरूमा पनि लुटपाट मच्चाएको एएफपी न्युज एजेन्सीले जनाएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा प्रदर्शनकारी, नेता र अधिकारीहरूसमेत थुप्रै घाइते भएका छन्। राष्ट्रपति कार्टसले ट्विटरमार्फत बयान जारी गर्दै नागरिकहरूलाई शान्ति बनाइ राख्न अपिल गरेका छन्।

कार्टसले भने– ‘लोकतन्त्रलाई हिंसाले हराउन र बचाउन सकिँदैन र तपार्इंहरूलाई के विश्वास दिलाउन चाहन्छु भने, यो सरकार गणतन्त्र कायम राख्नका लागि राम्रा प्रयासहरूलाई जारी राखिनेछ।’

प्रतिक्रिया दिनुहोस्