१४ द्वन्द्वपीडित परिवारलाई सम्मान



नेपाल समाचारपत्र
बझाङ
स्थानीय शान्ति समितिद्वारा १४ जना स्थानीय द्वन्द्वपीडित सम्मानित भएका छन्। दिगो शान्ति र राष्ट्र विकासको आधार भन्ने मूल मन्त्रका साथ शुक्रबार जिल्लाका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी १४ जना द्वन्द्वपीडित सम्मानित गरेको छ। सरोकारवालासँगको अन्तरक्रिया कार्याक्रममा मृतक, बेपत्ता, घाइते, अपांग भएका व्यक्तिलाई सम्मान गरिएको हो।

शान्ति समितिका जिल्ला संयोजक पृथ्बीबहादुर सिंहले दश वर्षको लामो द्वन्द्वकालका धेरै दाजुभाइ र दिदीबहिनी पीडित भएको बताउनुभयो। ‘वास्तविक द्वन्द्वपीडित को हो भनेर चिन्न नसक्दा अप्ठ्यारो भएको उहाँको भनाइ थियो। उहाँले वास्तविक द्वन्द्वपीडित नखुलेको हुनाले नक्कली द्वन्द्वपीडित राम्रोसँग चिनेर द्वन्द्वपीडित घोषण गर्नुपर्ने बताउनुभएको छ। दशवर्षे जनयुद्धले आफ्नो मुटु काँपेको जनाउँदै विगतका कुराहरू सहेर अझै पनि साहसका साथ बसिरहेकाले पीडित पक्षलाई सलाम गर्नुपर्ने स्थानीयबासी बिना जोशीले बताइन्।

द्वन्द्वपीडित परिवारलाई राज्यले १० लाख दिने भन्ने निर्णय गरे पनि अहिलेसम्म पनि आधा किस्ता पनि नपाएको द्वन्द्वपीडित बताउँछन्। आजकाल घरमा अन्य सहारा दिने कोही नभएपछि आफूलाई घरखर्च र केटाकेटीलाई विद्यालय पढाउन गाह्रो भएको एकल महिला पवित्रा ताम्राकारले दुःख व्यक्त गरिन्।

जिल्लामा जो द्वन्द्वपीडित घरपरिवार छन् तिनीहरूलाई यसरी नै प्रमाणपत्र दिएर वास्तविक द्वन्द्वपीडित पहिचान हुने र आगामी दिनमा द्वन्द्वपीडित परिवारलाई राज्यका विभिन्न निकायबाट पाउनुपर्ने सेवासुधिा दिनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभएको छ।
यहाँको स्थानीय सरकारको नजर जो हुनेखाने छन् र जिल्लाको उपल्लो तहसम्म जसको हात छ त्यसलाई द्वन्द्वपीडित घोषणा गरेको पीडित परिवारको गुनासो छ। जिल्लामा १ सय ९ जना द्वन्द्वपीडित परिवार रहेको स्थानीय शान्ति समिति बझाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्