स्थानीय तहमा नेतृत्व टिकटको दौडधुपमा युवा



नेपाल समाचारपत्र
बैतडी
स्थानीय तहको निर्वाचन नजिकिएसँगै बैतडीका युवाहरू नेतृत्व लिन सक्रिय भएका छन्। सरकारले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै यहाँका युवाले दौडधुप थालेका छन्। करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि युवाहरूले नेतृत्वको टिकटका लागि जिल्लादेखि केन्द्रसम्म धाउन थालेका छन्। विगत लामो समयदेखि स्थानीय चुनाव नभएकाले पनि युवावर्गले नेतृत्व गर्ने अवसर नपाएकाले पनि अहिले युवाको आकांक्षा बढी देखिनु स्वाभाविक भएको नेताहरू बताउँछन्।

उत्साहित कतिपय युवाले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमार्फत् उम्मेदवार भएको घोषणासमेत गर्ने गरेका छन्। नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले फेसबुकबाटै स्थानीय तहको निर्वाचनमा नेतृत्व लिन चाहेको बताएका छन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा सक्षम युवालाई नेतृत्व दिइनुपर्ने श्रीकोट युवा क्लबका संयोजक हेमराज गिरीको भनाइ रहेको छ।

स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले पनि युवाहरूलाई अगाडि बढाउने तयारी गरेको नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्र्र थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘लामो समयदेखि चुनाव नभएकाले पनि युवा उत्साहित हुनु स्वाभाविक हो।’ पार्टीको विधानअनुसार १६ देखि ४० वर्षको उमेरलाई भनेकाले स्थानीय निर्वाचनमा पनि युवालाई नेतृत्व लिन अवसर दिइने नेकपा एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘स्थानीय निर्वाचनमा पूरै उम्मेदवारको ५० प्रतिशत युवा आउँछन्।’ राजनीतिमा पनि बढीजसो युवा साथीहरू सक्रिय रहेकाले युवालाई प्राथमिकतामा राखिनेसमेत उहाँले बताउनुभयो।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष पे्रमप्रकाश भट्टले स्थानीय तहको चुनावमा युवालाई नै नेतृत्वका लागि टिकट दिइने बताउनुभयो। ‘माओवादी पार्टी युवाको नै पार्टी हो, पार्टीमा धेरै युवा नै रहनुभएको छ’ –भट्टले भन्नुभयो। अबको हरेक क्षेत्रमा युवाले नेतृत्व गर्ने अवसर पाउनुपर्ने नेकपा माले बैतडीका प्रमुख माधव विष्टले बताउनुभयो। सरकारले स्थानीय तहको निर्वाचन घोषणासँगै बैतडीका राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्