चुनावमा सबै आउनुपर्छः रेग्मी



भक्तपुर, (नेस)
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनलाई सफल पार्न सरकार र दलहरूले साझा मिलनबिन्दू खोज्नुपर्ने बताउनुभएको छ।

शनिबार सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरुटार इङ्लिस सेकेन्डरी स्कूलको १७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न सबै दलले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो।

उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्र र जनतालाई सर्वोपरी ठानी अगाडि बढे सहमतिको बिन्दू भेटिने बताउनुभयो। पूर्वअध्यक्ष रेग्मीले स्थानीय निर्वाचनलाई प्रदेश र संसद्को चुनावसँग जोडेर हेर्न नहुने बताउँदै यो निर्वाचनले दूरदराजका जनतालाई समस्या बोकेर सिंहदरबार धाउनुपर्ने समस्याबाट मुक्त गर्ने उल्लेख गर्नुभयो।

संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले यसलाई सफल पार्न सबै राजनीतिक दल एकजूट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो–‘आफ्नो ठाउँ आफैंले बनाउने, स्थानीय तहको खम्बाका रूपमा रहेको स्थानीय निर्वाचन हो, यो निर्वाचनले आफ्नो समस्या आफ्नै गाउँमा हल गर्न सहज हुन्छ, त्यसैले यो चुनावलाई अन्य चुनावसंग जोडेर हेर्न हुँदैन।’
रेग्मीले आफ्नो कुरा मात्रै भन्ने तर अरूको कुरा सुन्ने र बुझ्ने प्रयास नगर्ने प्रवृत्ति त्याग्नुपर्ने औंल्याउनुभयो। शिक्षा ऐनलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले वफादार र इमान्दार जनशक्ति बनाउने शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो।

विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षकहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा विद्यालयका अध्यक्ष डा. प्रकाश कायस्थ, संस्थापक निर्देशक ईश्वरबहादुर श्रेष्ठ, संस्थापक प्राचार्य रमण कायस्थलगायतले विद्यार्थीलाई देशका लागि आवश्यक असल र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्