घोडाले पानी बोकेर विद्यालय मर्मत



सरिता चलाउने, सल्यान
गत वर्षको हावाहुरीले विद्यालय भवनलाई जीर्ण बनाएपछि सल्यानको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत गरिरहेको छ। सल्यानको जिमालीमा रहेको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत शुरू गरेको जनाएको छ। कुमाख मालिका गाउँपालिका–७ जिमाली विर्केनेटीमा रहेको विर्केनेटी आधारभुत विद्यालयले यसरी विद्यालय मर्मत कार्य थालेको हो।

विद्यालयदेखि झन्डै एक किलोमिटर तलबाट घोडाले बोकेर ल्याएको पानीले विद्यालयको मर्मतको काम भइरहेको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘एउटा घोडाले एकपटकमा दुई घण्टा लगाएर ७० लिटर पानी ल्याउँछ र १ सय ५० रुपियाँ लैजान्छ।’ एक दिनमा एउटा घोडाले ३ सय ५० लिटर पानी बोक्ने गरेको बुढाथोकीले बताउनुभयो। ‘दिनमा ३ वटा घोडाले पानी बोक्छन्’, उहाँले भन्नुभयो– ‘खोलाको पानी भनेर के गर्नु दैनिक प्रति लिटर साढे २ रुपियाँ दरले पानी किनेर विद्यालय मर्मत गरिरहेका छौं।’ विद्यालय मर्मतका लागि सेभ द चिल्ड्रेनसँगको साझदोरीमा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत सबैका लागि सिकाइ कार्यक्रमले झन्डै २ लाख सहयोग गरेको उहाँले बताउनुभयो।

‘मानिसले एक किलोमिटर टाढाबाट बोकेको पानीले विद्यालय मर्मत गर्न सम्भव भएन’, उहाँले भन्नुभयो– ‘विद्यालयको स्रोत नहुँदा जनश्रमदानले सिमेन्ट, बालुवा विद्यालयसम्म लैजान नै हैरान छ। विद्यालयको स्रोत निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नै ठिक्क हुन्छ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले भन्नुभयो– ‘स्रोत जुटाउन नसक्दा विद्यालयका दुईवटै जीर्ण भइसकेका भवनलाई मर्मत गर्न सकेका थिएनौं। अहिले कार्यक्रमको सहयोग र अभिभावकहरूको जनश्रमदानले विद्यालय मर्मत सम्भव भएको छ।’ विद्यालय मर्मतअन्तर्गत बाहिरी र भित्री प्लास्टर, छाना अड्याउने र रंग लगाउने काम भइरहेको उहाँले बताउनुभयो।

विद्यालयमा पिउने पानीको समेत उचित व्यवस्था नहुँदा घरबाटै ल्याउने गरेको विद्यालयले जनाएको छ। ‘दिनमा कार्यालय सहायकले ३ घण्टा लगाएर पानी बोक्छन्’, विद्यालयका प्रधानाध्यापक बुढाथोकीले भन्नुभयो– ‘विद्यार्थीले चाहिँ पिउनेपानी घरबाटै बोकेर ल्याउँछन्।’ विद्यालयले नयाँ भवन निर्माणका लागि हालसम्म कतैबाट पनि सहयोग प्राप्त गर्न सकेको छैन। कक्षा ८ सम्म सञ्चालित विद्यालयमा हाल करिब डेढ सय विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्