सबैलाई सचेत र जिम्मेवार बनाउन आग्रह



नेपाल समाचारपत्र
दमौली, तनहुँ
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा मानवअधिकार निगरानी समूह तनहुँको संयोजनमा शुक्रबार दमौलीमा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्यसम्बन्धी समस्याहरू राखिएको थियो।

अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिँदै जिल्ला शिक्षा कार्यलय तनहुँका सहायक जिल्ला शिक्षा अधिकारी सूर्यप्रसाद क्षत्रीले जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म शिक्षक व्यवस्थापन गर्दै भौतिक निर्माणकार्य, पुस्तकालय, विज्ञान सामग्री वितरण, छात्रवृत्तिलगायतका कार्य गरिएको बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय तनहुँका वागवानी अधिकृत ज्ञानेन्द्रबहादुर अधिकारीले भू–उपयोगी नीति बन्ने हुँदा कृषि क्षेत्र राम्रो हुने बताउनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत गौरव ढकालले नागरिक बडापत्र तथा सुझावपेटिका सबै स्वास्थ्य निकायमा राख्ने कार्य भएको भन्दै जनताको स्वास्थ्यसँग सिधा पहुँच हुनुपर्ने भन्दै चित्किसक नराख्ने क्लिनिक बन्द गरिने पनि बताउनुभयो। जिल्ला पशु सेवा कार्यालय तनहुँका प्रमुख दीर्घनाथ ढुंगानाले पशु स्वास्थ्य र सेवाका लागि ध्यान दिएर सेवा दिने गरेको बताउनुभयो।महिला तथा बालबालिका कार्यालय तनहुँकी राधा वाग्लेले जन्कफुड अन्त्य गरी बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो।

मानवअधिकार निगरानी समूह तनहुँका संयोजक रामलीला सुवर्णकारको अध्यक्षतमा भएको कार्यक्रममा इन्सेक फोकल पर्सन सबनम शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो। इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा मानवअधिकार निगरानी समूहकी सदस्य सोनी शर्मा खनियाले सहभागीलाई स्वागत गर्नुभएको थियो।
सहभागी आरके पोख्रेलले जिल्लामा भएका समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभयो। अन्तरपार्टी महिला तनहुँकी पूर्वअध्यक्ष कल्पना पौडेलले अनुगमन फितलो हुँदा सेवाग्राही मर्कामा परेको बताउनुभयो। पत्रकार नारायण खड्काले समस्या देखाउनुभन्दा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। मानवअधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कला पुन, जिल्ला समन्वय समितिका राजेन्द्र सोती, जेष्ठ नागरिक तनहुँका देवनिधि पन्थ, नरबहादुर विकलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्