म्यादी प्रहरीको तालिमको क्रममा ३ को मृत्यु



नेपाल समाचारपत्र, काडमाण्डौ ।

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए । उनलाई प्रहरीले अस्पताल पु¥याएपनि बचाउन सकेनन् । बाँकेका एसपी टेकप्रसाद राईका अनुसार, एक किलोमिटरको दौड सकेर केहीबेरको आराम पछि सेटअफ, पुसअफमा लगिएको थियो ।
एकपटक पुसअफ गर्दा नै थारुले दुख्यो सक्दिन भने । त्यसपछि उनको शरीरबाट चिरचिर पसिना आयो र बेहोस् भए । तत्कालै डिएसपीको गाडीबाट अस्पताल पु¥याइयो । अस्पतालले मृत्यु भएको घोषणा ग¥यो ।
म्यादी प्रहरीका लागि शनिबारदेखि छनौट शुरू गरिएको थियो । बाँकेमा १ हजार १ सय जनाको कोटा रहेको छ । त्यसका लागि ३ हजार ७ सय ९५ जनाले निवेदन दिएका छन् । ८ सय ८५ जना महिला रहेका छन् ।
भुपु सुरक्षाकर्मीलाई म्यादी भर्नामा प्राथमिकता रहेको छ । नेपालगञ्जमा थारु, मधेसी, मुस्लिम, महिलाको उल्लेख्य निवेदन परेको छ । निवेदन धेरै परेकाले छनौटमा कडाई गरिएको छ । बेरोजगारहरू त्यसै बस्नु भन्दा केही पैसा आइहाल्छ भन्दै म्यादीका लागि गएका छन् । एकैपटक दौड, सेटअफ, पुसअफलगायतका कडा अभ्यास गर्दा थारुको मृत्यु भएको बुझिएको छ ।

त्यसैगरी हाम्रा खोटाङ्ग समाचारदाताका अनुसार म्यादी प्रहरकिो तालिमको क्रममा खोटाङ्ग सप्तेश्वरका २४ वर्षिय किशोर निरौलाको पनि मृत्यु भएको छ । निरौलाको तालिमको क्रममा बेहोस भएका उनको उपचारको क्रममा निधन भएको हो । यस्तै बिराटनगरबाट प्राप्त समाचार अनुसार म्यादी प्रहरीको तालिमको क्रममा बिराटनगर–१६ का तुलसी राजवंशीको लडेर मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्