‘सफा सहर’ मा फुटपाथको धब्बा



नेपाल समाचारदाता, हेटौंडा ।

तीन वर्षअघि देशको सुन्दर, हरियाली र सफा सहरको सूचीमा परेर पहिलो पुरस्कार थापेको हेटांैडाका सडकमा यतिबेला हिँडिनसक्नु छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत्को फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले ‘सफा सहर’ घोषणा गरी प्रदान गरेको पुरस्कार हेटौंडाले पाएको थियो । ‘सफा सहर’ को प्रथम पुरस्कार तथा प्रमाणपत्र पाएपछि अन्य नगरपालिकाको ध्यान हेटौंडातर्फ खिँचिएको थियो ।

देशभरका नगरपालिकाहरुले ‘सफा सहर’ घोषणाका लागि प्रस्ताव पेश गरेकोमा हेटौंडा ६७ अंक प्राप्त गरी प्रथम भएको थियो । हेटौंडाले प्रथम भएवापत् पाँचलाख नगद र प्रमाणपत्र पाएको थियो ।

हाल कपडा, तरकारी, फलफूललगायत पसलले फुटपाथ ढपक्कै ढाकेका छन् । भित्री सहरका साँघुरा सडक, पैदल यात्री र सवारीसाधनले भरिन्छन् भने आवातजावत गर्न कठिनाइ छँदैछ, सडक २५ मिटर फराकिलो बनाउने अभियान थालिएपछि फुटपाथमा पसल झन् मौलाइरहेको अवस्था छ ।

हेटौंडाको मुख्य राप्तीरोड, बुद्धचोक, सीमाचोक र कान्तिलोकपथलगायत सडक÷पेटीमा लामो समयदेखि फुटपाथ पसल सञ्चालनमा छ । फुटपाथ पसलले सधैंजसो पैदलयात्रीलाई दुःख दिने गरेको छ । ती पसलले सहरलाई कुरुप बनाइरहेका छन् । नगरपालिकाले आफ्नो जिम्मेवारी वहन नगर्दा सडकमा पसल उत्तिकै देखिन्छन् ।

उपमहानगरपालिकाले पटकपटक सूचना जारी तथा माइकिङ गरे पनि फुटपाथ पसलेले ‘डुंगा हिँड्दैछ, पाइला मेट्दैछ’ भने झैं बसिरहेका छन् । हेटौंडा–९ का भक्त बाँस्तोलाले भने–फुटपाथमा व्यापार गर्नु आफंैमा नियमविपरीत हो । उनले हिँड्न बनाइएको बाटोमा व्यापार गर्नाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई मर्का परेको बताए ।

प्रतिक्रिया दिनुहोस्