चुनाव हुँदैन की भन्ने शङ्का नगरौं– उपप्रधानमन्त्री थापा



पोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उहाँले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

“अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन “ उहाँले भन्नुभयो– “चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता हुदैँन ” ।

देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गर्नुभयो ।

उहाँले नयाँ संरचना लागू भए पनि स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृित्तविकासमा भने कुनै नकारात्मक असर नपर्ने बताउँदै स्थानीय तहमा हुने विकास निर्माणको कार्यको पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन आग्रह गर्नुभयो । सो अवसरमा पश्चिमान्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रको सुरक्षा अवस्था र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बलराम ढकालले जिल्लाको स्थानीय तहको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्