सामुहिक सरसफाई अभियान सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।
नयाँ बर्षको आगमनसँगै सुरु हुने प्रसिद्घ बिस्केटजात्रालाई मध्यनजर गदै भक्तपुरमा सामुहिक सरसफाई अभियान सुरु गरिएको छ । ।सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले शनिबार बिस्केट जात्रा सुरु हुने मुख्य स्थान टौमढीबाट यो अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत प्रहरी,नागरिक समाजका अगुवा र सहकारीकर्मीले न्यातपोल मन्दिर परिसर र त्यस वरपरको क्षेत्रको सरसफाई गरेका छन् । बाटो सफा भए आँगन सफा हुन्छ र आँगन सफा भए घर सफा हुन्छ भने झैं ब्यक्तिको स्वास्थ्यसँग टोल र समुदायको वातावरण जोडिएको बताउँदै कार्यक्रम संयोजक संजय जोन्छेले समुदायमा बस्ने सबैलाई सरसफाईप्रति सचेत गराउन अभियान संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगारपालिका अन्तर्गत सरसफाई शाखा प्रमुख दिलीप सुवाल ,महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका सई शिबप्रसाद न्यौपाने , सहकारीका अध्यक्ष कृष्णप्रसाद दुवाल ,समाजसेवी बिबेकमान कर्माचार्य लगायतले शरीर स्वस्थ राख्नका लागि समुदायको वातावरण पनि सफा र स्वच्छ हुुनु पर्नेमा जोड दिंदै यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

घर,अाँगन ,बाटोघाटो चोक र गल्लीको सरसफाई अभियानले बातावरणलाई सफा राखी स्वस्थ ब्यक्ति र सशक्त समाज निर्माणमा सहयोग पुग्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिंदै चौतर्फी रुपमा संचालन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्