म्यादी प्रहरीमा क्याम्पसका विद्यार्थी



नेपाल समाचारदाता, हेटौंडा ।

म्यादी प्रहरी हुन मकवानपुरमा २ हजार ४ सय ७ जनाले आवेदन दिएका छन् । तीमध्ये अधिकांश क्याम्पसका विद्यार्थी छन् । २०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

मकवानपुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी, पालुङ, नेवारपानी, फापरबारी, पशुपतिनगर, ठिंगन, भीमफेदीबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
चैत १३ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरी हुन आवेदन दिन आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार ७ सय ५ महिलाले म्यादी प्रहरी हुन आवेदन दिएका छन् । म्यादी प्रहरी हुन १ हजार ७ सय २ जना पुरुषले आवदेन दिएका छन् ।

म्यादी प्रहरीको छनौट तालिम शनिबारबाट जिल्ला प्रहरी कार्यालयले शुरु गरेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभएको छ । म्यादी प्रहरीमा आवेदन दिनेमा क्याम्पसमा अध्ययनरत युवा बढी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्