ठगीका नाइके पक्राउ



सयांै ठगिए, ३० को उजुरी

मोतीराम तिमल्सिना, काभ्रे

भूकम्पपीडितको घर निर्माण गर्न सहयोग गर्ने, वैदेशिक रोजगारीमा पठाउने तथा सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पूरा गरेको छ। प्रहरी अनुसन्धानमा ३० जनाको उजुरीबाट विभिन्न उद्देश्यले ३० लाखभन्दा धेरै ठगी गरेको खुलेको छ। साविक देवीटार गाविस वडा नम्बर ३ हाल धुलिखेल नगरपालिका घर भई बनेपाको गोदामचोकमा विगत २ वर्ष देखि डेरा लिई बस्दै आएका ३५ वर्षका यादव घोरसाइनेले भूकम्पपीडितलाई घर निर्माणका लागि निर्माण सामग्री, सिमेन्ट, रड, बालुवा, जस्तापाता जस्ता सामग्री हिमानी ट्रस्टबाट ल्याइदिने भन्दै जनही १३ जनाबाट ६ हजार र अन्य केहीबाट समेत गरी १ लाख ५५ हजार ठगी गरेका छन्।

ठगिनेमा साविक गैरीबिसौना गाविस वडा नम्बर २ घर भएका गोविन्दप्रसाद ढकाल र उनको घर वरपरका १३ जना रहेका छन्। सबै पीडितहलाई घोरसाइनेले पाँचखाल केराघारी घर भएका रामकुमार खाती हिमानी ट्रस्टमा आबद्ध भएकाले उनीमार्फत प्रति व्यक्ति २ लाख सहयोग आउने भन्दै भाडास्वरूप ६÷६ हजार असुलेका थिए भने साविक कुशादेवी गाविस वडा नम्बर ३ घर भएकी ४५ वर्षीया दिलकुमारी श्रेष्ठ र सोही ठेगानाकी ३७ वर्षीया धनकुमारी श्रेष्ठसँग ३२ हजार रकम असुलेका थिए।

घोरसाइनेले वैदेशिक रोजगारका नाममा इजरायल र कोरिया पठाउने भन्दै दर्जनांै व्यक्तिलाई ठगी गरेको भए पनि इलाका प्रहरी कार्यालय बनेपामा ८ जनाले मात्रै उजुरी गरेका छन्। उनीहरूबाट मात्रै घोरसाइनेले २५ लाखभन्दा धेरै ठगी गरेका छन्। गैरीबिसौना गाविस वडा नम्बर २ घर भएका गोविन्दप्रसाद ढकालका दुई छोरी विन्दा र लक्ष्मी ढकाललाई उनै घोरसाइनेले इजरायल पठाउने भन्दै उनीहरूको राहदानी, नाता प्रमाणित गरेको कागजातसहित २०७३ जेठ १७ गते ३ लाख नगद बुझाएका थिए। फेरि ढकालले रकम अपुग भयो भन्दै असार ३ गते १ लाख, असोज ३ गते १ लाख गरी ५ लाख रकम बुझाएका थिए। ढकालले रकम लिएर इजरायले नपठाएपछि घोरसाइनेलाई तत्काल रकम फिर्ता गर्न दबाब दिएपछि २०७३ फागुन १२ गते १ लाख रकम फिर्ता गरेका थिए।

त्यस्तै सोही ठेगानाका देवकृष्ण ढकालसँग इजरायल पठाउने भन्दै घोरासाइनेले बैनास्वरूप २० हजार र हिमानी ट्रस्टको सहयोग ल्याउने भन्दै २०७३ साल वैशाख ११ गते ६ हजार ठगी गरेका थिए। सोही ठेगानाका दीपक ढकालसँग २०७२ साल चैत्र २२ गते वैदेशिक रोजगारीका लागि ४ लाख र हिमानी ट्रस्टको सहयोगका लागि ६ हजार ठगी गरेका छन्। पाँचखाल नगरपालिका ६ घर भएका हरिप्रसाद सापकोटाले छोरा राजकुमार सापकोटालाई इजरायल पठाउने भन्दै २०७२ चैत्र २ गते १ लाख, २०७३ जेठ ११ गते १ लाख ५० हजार, जेठ १८ गते १ लाख र असार ५ गते १ लाख गरी ४ लाख ५० हजार नगद र राहदानी बुझाएका थिए। उनका अर्का छोरा सन्तोष सापकोटासँग यादवको बहिनीले विवाह गरेकी छिन्।
वैदेशिक रोजगारका लागि कोरिया पठाउने भन्दै देवीटार ७ का सानुराम तामाङसँग २०७३ असोज १२ गते २ लाख ५० हजार, तेजबहादुर तामाङसँग २०७३ असोज १८ गते २ लाख ५० हजार, भीमबहादुर तामाङसँग २०७३ मंसिर ९ गते १ लाख ५० हजार, प्रेम तामाङसँग २०७३ मंसिर ९ गते २ लाख ५० हजार रुपियाँ घोरासाइनेले ठगी गरेको उजुरी परेको छ। त्यस्तै रविओपी गाविसका २५ वर्षीय मनोज थापासँग २०७३ पुस ११ गते हेभी गाडीको सवारी चालक अनुमतिपत्र ल्याइदिने भन्दै ६५ हजार, बनेपा ११ घर भएका रामप्रसाद तिमल्सिनासँग मोटरसाइकलको सवारी चालक ल्याइदिने भन्दै १५ हजार र वनेपा ११ कै राजेश भट्टराईसँग २२ हजार रकम ठगी गरेका छन्। प्रहरीले घोरासाइनेको कोठाबाट चालक अनुमतिपत्रका लागि भरिने खाली ३ वटा र भरिएको २ वटा फाराम, भत्तेश्वर सहकारीको पासबुकहरू, राष्ट्रिय जनता पार्टी (राजावादी) लेखिएका लेटरप्याडहरूलगायत बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घोरसाइने ठगीविरुद्ध ३० भन्दा धेरैले उजुरी दिए पनि वैदेशिक रोजगारको मुद्दा प्रहरीले चलाउन नमिल्ने भएकाले हिमानी ट्रस्टका नाममा भएको ठगी, सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै गरिएको ठगीलगायतमा देखिएको बिगो र मुलुकी ऐनको ठगी महलको १ नम्बरबमोजिम सजायको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्