धमाधम सडक खन्दै सेना



भीरमा होल्ड खन्न शुरू
सन्तोष अधिकारी, गोरखा

पाली सेनाले गोरखाको बेनीघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्ज्याङसम्म जोड्ने सडकको काम धमाधम शुरू गरेको छ। सेनाको ६५ जना निर्माण दलका सदस्यहरू र होल्ड खन्ने १० जनाको टोलीले अहिले हावाडाँडादेखि लापु भीरमा बम ब्लास्टका लागि होल्ड खन्ने काम काम गरिरहेको सेनाका इन्जिनियर निशान्त पण्डित क्षत्रीले जानकारी दिनुभयो। उक्त सडक निर्माणका लागि नेपाली सेनाले गोरखाको थुमीको अर्मलामा शिविर नै स्थापना गरेर काम शुरू गरेको हो। बेनीघाटदेखि हावाडाँडाको सडक खण्डमा सडक डिभिजन कार्यालयले काम गरिरहेकाले हावाडाँडाबाट सेनाले काम शुरू गरेको हो।

‘बेनीघाटदेखि हावाडाँडासम्म सडक कार्यालयले नै काम गरिरहेको छ’, सेनाका इन्जिनियर क्षत्रीले भन्नुभयो– ‘बेनीघाटदेखि हावाडाँडाको सडक ६२ किलोमिटरको छ। त्यसमा हामीले छुँदैनौं। त्यसैले हामीले हावाडाँडालाई नै शून्य किलोमिटर मानेर काम अघि बढाएका छौं।’ पहिलो सो बाटोको डीपीआर अध्ययन केही नगरेकाले अहिले सेनाले हावाडाँडादेखि तातोपानीसम्मको १६ किलोमिटर सडकको सर्भे गरिसकेको छ। सेनाले सर्भेको कामलाई पनि अघि बढाइरहेको सेनाका मेजरसमेत रहनुभएका क्षत्रीले बताउनुभयो। ६५ जना निर्माण दल र १० जना होल्ड खोप्ने सिनियर दल गरी ७५ जनाले अहिले काम गरिरहेको उहाँको भनाइ छ।

बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडकको लम्बाइ १ सय ८३ किलोमिटर छ। जसमध्ये सेनाले आरुघाट–लार्केभन्ज्याङ खण्डको १२१ किमि सडक निर्माण गर्ने जिम्मा पाएको छ। बेनीघाट– आरुघाट–हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण भने सडक विभागले गरिरहेको छ।

अर्मलापछि सेनाले माछाखोलामा पनि अर्को शिविर स्थापना गर्ने तयारी गरेको छ। पहिलो चरणमा अर्मलादेखि माछाखोलासम्म सडक निर्माण गर्ने र त्यसपछि उत्तरका क्षेत्रमा पायक नपर्ने भन्दै माछाखोलामा शिविर स्थापना गर्न लागिएको हो। यस सडक खण्डलाई चालू आर्थिक वर्षमा साढे २ करोड बजेट विनियोजन भएको छ।

सेनाले होल्ड खोपी सक्नेबित्तिकै हावाडाँडा र लापुभीरमा बम पड्काउने काम थाल्नेछ। ‘शिलान्यास हुनै बाँकी छ। शिलान्यास हुनेबित्तिकै बम पड्काउने काम भइहाल्छ। बम पड्काउने तयारीस्वरूप नै होल्ड खनिएको हो। सम्भवतः अबको एक हप्तामा शिलान्यासको काम हुन्छ होला त्यसपछि निर्माणले गति लिनेछ’ –क्षत्रीले भन्नुभयो।

नेपाली सेनाले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई जानकारी गराई गत १५ गते बाट सो बाटो बन्द गराउन भने पनि बाटो भने बन्द भएको छैन। प्रजिअ बस्नेतका अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस क्षेत्रका गाउँपालिकालाई वैकल्पिक बाटोको प्रयोग गर्न गाउँमा सूचना सम्प्रेषण गर्न पत्राचार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्