मुकुन्द भाइहरू



स्थानीय चुनाव हुने लगभग पक्का भए पनि चुनौतीरहित अवस्था भने अझै पनि छैन। मतदानपछि चाहिने मसीसमेत बाहिरबाट ल्याउनुपर्ने र त्यो दिन नसक्ने भनेर कुनै मित्रराष्ट्रले खबर गरेको धरहराले सुनेको छ।

यस्ता यावत् कुराको जोहो गर्नुपर्ने अवस्था रहेपनि देश पूर्णरुपमा निर्वाचनमा होमिइसकेको गाउँ बस्तीमा भइरहेका निर्वाचन चर्चाले पुष्टि गरेका छन्।

जनताले चाहेपछि अरूले रोक्ने सम्भावना पनि कम नै हुन्छ। अहिले अरूका त कुरा छोडौं मधेसी मोर्चाभित्र पनि मलाई मेयर चाहियो, मलाई उपमेयर चाहियो भन्दै भित्रीरूपमा कुदाकुद शुरू भइसकेको धरहराले पत्ता लगाएको छ। सधैं निर्वाचन बहिष्कार गर्दै आएका वैद्य बाले त निर्वाचन उपयोग गर्ने निर्णय नै गराइसके।

तर, पूर्वमाओवादी अहिलेका नयाँ शक्तिका मुखिया बाराभ भने निर्वाचन हुन नदिने भन्दै धम्क्याउन थालेका छन्। नेपालमा पनि विचित्र हुन्छ भन्या। राज्यले प्रण गरिसकेको निर्वाचन बिथोल्छु भनेर धम्क्याउने र हिरो बन्न खोज्ने प्रवृत्ति विचित्रको होइन त? चुनावमा त जान्छु, गएर सबैलाई पछार्छु पो भन्नुपर्ने। निर्वाचन हुनै दिन्न रे। जनताले कुटेर लखेटे भनेचाहिँ त्यसको जिम्मेवार को हुने हो धरहरालाई बहुत चिन्ता लागेको छ। त्यस्तो नहोस् धरहराको शुभेच्छा छ।

जनमत शून्य भएका सबैले निर्वाचन बिथोल्ने भन्न थाले भने के होला? भोलि रत्नपार्कतिर रूख चढ्दै हिँड्ने मुकुन्द भाइले पनि बिथोल्छु भन्न बेर छैन। मुकुन्द भाइहरूको चर्तिकला पनि बुझिनसक्नु हुने भो। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्