स्पेस एक्सद्वारा अन्तरिक्ष अभियानमा बुस्टरको पुनः प्रयोग



लस एन्जलस, (एजेन्सी)

अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले आफ्नो फाल्कन ९ रकेटको एउटा भागलाई दोस्रोपटक अन्तरिक्ष प्रक्षेपणमा प्रयोग गरेको छ।

उक्त फाल्कन ९ रहेको पहिलो चरणको बुस्टरलाई ११ महिनाअगाडि एक अभियानमा प्रयोग गरिएको थियो। बिहीबार फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा उडान भरेको उक्त रकेटले अन्तरिक्षमा एउटा दूरसञ्चार स्याटलाइटलाई उसको कक्षमा स्थापित गर्न मद्दत गरेको थियो।

उक्त उडानमा स्पेस एक्सको रकेटलाई पुनः प्रयोगमा ल्याउन उपयुक्त बनाउनुलाई ठूलो उपलब्धि मानिएको छ। सामान्यतया रकेट एक पटकको अभियानपछि नै अन्तरिक्षमा नस्ट हुने गर्छ। तर स्पेस एक्सले आफ्नो फाल्कन रकेटलाई पृथ्वीमा फर्काएर पुनः अन्तरिक्षमा पठाएको छ।

कम्पनीले यो प्रविधिको प्रयोगबाट आफ्नो अन्तरिक्ष अभियानमा लाग्ने लागतलाई कम गर्न चाहेको हो। बिहीबार प्रक्षेपणमा प्रयोग गरिएको बुस्टरलाई पनि अटलान्टिक महासागरस्थित एउटा जहाजमा सुरक्षित अवतरण गराइएको छ।

यो सफलतापछि स्पेस एक्सका मुख्य कार्यकारी एलन मस्कले भने– ‘मलाई लाग्छ, आज अन्तरिक्षका लागि गजबको दिन हो।’

उनले भने– ‘यसको अर्थ अब अर्बिट क्लास बुस्टरलाई एकपटक उडानपछि पुनः प्रयोग गर्न सक्छ भन्ने प्रमाणित भएको छ। जुन रकेटको सबैभन्दा महँगो पार्ट हो। यसले अन्तरिक्ष उडानमा धेरै ठूलो क्रान्ति हुने मैले अपेक्षा गरेको छु।’

उक्त रकेटले दूरसञ्चार भू–उपग्रह एसईएस–१० लाई अन्तरिक्षमा पु¥याएको थियो। उक्त भू–उपग्रह उडानको ३२ मिनेटपछि रकेटबाट अलग्गिएको थियो।
त्यसपछि आफ्नै प्रक्षेपकको माध्यमबाट आफ्नो कक्षतर्फ प्रस्थान गरेको एसईएस–१० ले क्यारेबिया, ब्राजिल र मध्य तथा दक्षिण अमेरिकाका अन्य भागमा टेलिभिजन तथा टेलिफोन सेवा उपलब्ध गराउनेछ।

एसईएस १० को निर्माण एयरबस डिफेन्स एन्ड स्पेसले बेलायत र फ्रान्समा गरेको हो। विगत दुई वर्षमा पहिलो चरणको बुस्टरलाई सुरक्षित पृथ्वीमा फिर्ता गर्ने प्रविधिमा स्पेस एक्सले पर्याप्त दक्षता हासिल गरेको छ।

रकेटको यो हिस्सा स्वनिर्देशित फिर्ता भएर कुनै तैरिएको प्लेटफर्म वा समुद्र किनारामा बनाइएको प्याडमा अवतरण हुन सक्छ। स्पेस एक्सको बिहीबार भएको उडानमा त्यस्तै दोस्रो प्रक्षेपण योग्य रकेटको पहिलो उडान हो। कम्पनीले अन्तरिक्षबाट जमिनमा फर्केका अन्य बुस्टरलाई पनि भविष्यको अन्तरिक्ष अभियानमा प्रयोग गरिने बताए।

यसै वर्ष मात्रै यस प्रकारका ६ वटा उडानको सम्भावना रहेको छ। तर स्पेस एक्सका केही ग्राहकले नयाँ रकेटलाई जोड दिन सक्ने अनुमान गरिएको छ। तर कम्पनीले सेकेन्ड ह्यान्ड रकेट पनि त्रुटिरहित प्रदर्शन गर्न सक्ने क्षमता देखाएको छ।

प्रतिक्रिया दिनुहोस्