लागूऔषको कारण दूतावासको जागिर चट



काबुल, (एजेन्सी)

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत छ जना व्यक्तिलाई साथमा अवैध लागूऔषध राखेको अभियोगमा जागिरबाट बर्खास्त गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। तिनीहरूको अवैध गतिविधिमाथि छानबिन भएपछि तिनीहरूलाई करार सेवाबाट हटाइएको दूतावासका प्रवक्ताले बीबीसीलाई जानकारी गराएका छन्।

वालस्ट्रिट जनरलले यसरी अनुशासनको कारबाहीमा पर्नेहरूमध्ये अधिकांश अमेरिकी नागरिक रहेको र तिनीहरू कर्मचारी तथा निजी सुरक्षाकर्मीको रूपमा कार्यरत रहेको बताइएको छ। तर सो दूतावासमा कार्यरत अफगानहरूले स्थानीय र विदेशी कर्मचारीहरूले चरेस सेवन गर्नु असामान्य घटना नभएको बताएका छन्।

दूतावासमा कार्यरतमध्ये एक जना नशामा निकै लठिएको अवस्थामा फेला परेपछि अनुसन्धान थालिएको थियो। दूतावासले अमेरिकी विदेश विभागका कर्मचारीबाट यस खराब आचरणलाई निकै गम्भीररूपमा लिएको जनाएको छ।

सन् २००१ देखि तालिवान लडाकूविरुद्ध युद्ध थालिएयता अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले लागूऔषध दुरुपयोगविरुद्ध थुप्रै पैसा खर्च गरिसकेको छ। अफगानिस्तान विश्वकै सबैभन्दा बढी अफिम उत्पादन गर्ने मुलुकका रूपमा कुख्यात छ।

प्रतिक्रिया दिनुहोस्