पूर्वराष्ट्रपति पार्क पक्राउ



सोल, (एजेन्सी)

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गेयुन ह्येलाई शुक्रबार बिहान सबेरै प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचार गरेको र पदीय शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो।

राजधानी सोलस्थित केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीशले उनलाई लगाइएको महाअभियोग पुष्टि भएकाले उनलाई अब क्षमा दिन सक्ने अवस्था नरहेको बताएका छन्।उनीविरुद्ध लगाइएको मुद्दामाथि बिहीबार सुनुवाइ भएको थियो। उनको मुद्दाका विषयमा नौ घण्टासम्म भएको सुनुवाइ दक्षिण कोरियाको न्यायिक क्षेत्रको इतिहासमै अहिलेसम्मकै लामो सुनुवाइ भएको बताइएको छ।

पार्क राति अबेरसम्म न्यायाधिवक्ताको कार्यालयमा अदालतको फैसलाको प्रतीक्षामा बसेकी थिइन्। सुनुवाइपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखेको जनाइएको छ।

सो कारागार न्यायाधिवक्ताको कार्यालयदेखि केबल १५ किलोमिटर मात्र टाढा रहेको छ। ६५ वर्षीया पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ। दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकीय तरिकाले बाहिरिने उनी एक मात्र प्रजातान्त्रिक ढंगले निर्वाचित नेता हुन्।

उनीविरुद्ध भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै दक्षिण कोरियामा लामो समय विरोध प्रदर्शनसहितको आन्दोलन भएको थियो। उनलाई केही साताअगाडि मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहर गर्दै पदमुक्त गराएको थियो। यसरी महाअभियोग लागेर पदमुक्त हुने उनी दक्षिण कोरिएको पहिलो व्यक्ति हुन्।

संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुई दिनपछि नै उनले राष्ट्रपति कार्यालय छाडेकी थिइन्। पार्कलाई चोइ सुन सिल नामक आफ्नी नजिकका मित्रलाई आफ्नो पदीय हैसियत प्रयोग गर्न दिएर अवैध ढंगले आर्थिक उपार्जन गर्न दिएको अभियोग लगाइएको थियो।

चोइले सामसुङलगायत अन्य ठूला कम्पनीबाट राजनीतिक सहयोग गरिदिने सर्तमा आफ्ना गैरसरकारी संस्थाका लागि लाखौं अमेरिकी डलर चन्दा लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्