लालीगुराँस उत्कृष्ट सहकारी



ललितपुर, (नेस)

जिल्ला सहकारी संघ ललितपुरले लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थालाई यसवर्षको उत्कृष्ट सहकारी घोषणा गरेको छ। ६०औं सहकारी दिवसको अवसरमा शुक्रबार उक्त सहकारीलाई ललितपुर महानगरपालिका क्षेत्रबाट उत्कृष्ट सहकारी घोषणा गरेको हो। नेपाल राष्ट्र बैकका पूर्वगभर्नर डा. युवराज खतिवडाले लालीगुराँसका अध्यक्ष अमरदास श्रेष्ठलाई सम्मान पत्रसहित प्रदान गर्नुभएको हो।

२०५६ सालमा स्थापना भएको उक्त सहकारीलाई कारोबार र सदस्यको आधारमा उत्कृष्ट घोषणा गरिएको हो। संस्थाले बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्रको लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ लालीगुराँस राष्ट्रिय उच्च मावि, ऊर्जा क्षेत्रतर्फ भैरवकुण्ड हाइड्रोपावर, कृषि क्षेत्रतर्फ चितनवको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य विभिन्न संघ संस्था तथा कम्पनीमा लगानी गरेको छ।

सोही कार्यक्रममा गाउँपालिका तर्फ विश्वासिलो बचत तथा ऋण सहकारी संस्था गोटीखेल, नगरपालिकातर्फ झरुवाराशीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्था र ग्रामीण कृषि विकास सहकारी संस्था चापागाउँ, प्रतिभा बचत तथा ऋण सहकारी संस्था लगनखेल र महिला सहकारीतर्फ गणेशस्थान महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था ठैवलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्