कुल निर्यातभन्दा इन्धनको आयात दोब्बर



 

हेमन्त जोशी, काठमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन।

चालू आर्थिक वर्षको दोसो चौमासिक सकिदा व्यापारघाटा ५ खर्ब ७८ अर्ब ८२ करोडभन्दा धेरै पुगेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल निर्यातको अनुपातका आयात १३ गुणा बढीे छ। जुन अनुपात अघिल्लो वर्षमा १० दशमलव २ गुणाले बढी रहेको थियो।

भन्सार विभाग तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यका अनुसार चालू आर्थिक वर्षको कुल वैदेशिक व्यापारमा ९२ दशमलब ९ प्रतिशत आयात र ७ दशमलब १ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ।

नेपालको कुल निर्यातभन्दा इन्धनको आयातमात्रै झण्डै दोब्वर पुगेको छ। चालू आर्थिक वर्षको ८ महिना अवधिमा नेपालले ८३ अर्ब २२ करोड ८० लाख रुपियाँ बराबरको इन्धन आयात गरेको छ। जुन रकम देशको कुल निर्यातभन्दा ३५ अर्ब ८ करोड १८ लाख रुपियाँभन्दा बढी हो। त्यस्तै फलाम तथा स्टीलको आयात पनि कुल निर्यातभन्दा बढी छ।

आर्थिक वर्षको यस अवधिमा ६१ अर्ब ६५ करोड ८४ लाख रुपियाँ बराबरको फलाम तथा स्टीलजन्य वस्तु आयात भएको छ। चालू आर्थिक वर्षको दोसो चौमासिक अवधिमा ६ खर्ब ७५ अर्ब ११ करोड २४ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ।

गत माघसम्म ५ खर्ब ९८ अर्ब ७३ करोड रुपिया बराबरको वैदेशिक व्यापारमा फागुन महिनामा मात्र साढे ७३ अर्ब रुपियाँ थपिएको छ। देशका १५ वटा मुख्य नाकाबाट ६ खर्ब २६ अर्ब ९६ करोड ६२ लाख रुपियाँ बराबरको सामान आयात भएको हो भने ४८ अर्ब १४ करोड ६१ लाख रुपियाँ बराबरमात्रै निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

देशको सबैभन्दा ठूलो नाका वीरगन्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलब ३१ प्रतिशत आयात र २० दशमलब ९७ प्रतिशत निर्यात भएको छ। वीरगन्ज नाकाबाट २ खर्ब १५ अर्ब १४ करोड ३२ लाख रुपियाँ बराबरको आयात भएको छ भने १० अर्ब ९ करोड ७९ लाख रुपियाँ बराबरको निर्यात भएको छ।

देशको एकमात्र अन्तराष्ट्रिय विमास्थल त्रिभुवन विमानस्थलबाट ७५ अर्ब ९३ करोड ७२ लाख रुपियाँबराबरकोे आयात र १३ अर्ब ९७ करोड ९४ लाख रुपियाँ बराबरको निर्यात भएको छ। जुन रकम कुल वैदेशिक व्यापारमा निर्यात १२ दशमलब ११ प्रतिशत र आयात २९ दशमलब शून्य ४ प्रतिशत हो।
यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयातमा तेस्रो ठूलो र निर्यातमा पहिलो भन्सार कार्यालय बन्न पुगेको छ। तीन वटा भन्सारहरू जलेश्वर, जनकपुर र सिराहाबाट भने निर्यात शून्य देखिएको छ।

नेपालले यस अवधिमा भारतसँग मात्र ६४ दशमलब ५७ प्रतिशत वैदेशिक व्यापार गरेको छ। भारतसँग नेपालले फागुन मसान्तसम्म ४ खर्ब ३५ अर्ब ९२ करोड ३१ लाख रुपियाँ बराबरको व्यापार गरेको छ भने व्यापारघाटा ३ खर्ब ८० अर्ब ४७ करोड २२ लाखभन्दा बढी छ।

त्यस्तै नेपालको दोस्रो ठुलो वैदेशिक व्यापार गर्ने देश चीनसंँग ८५ अर्ब ८१ करोड ९३ लाख वैदेशिक व्यापार रहेकोमा व्यापारघाटा ८३ अर्ब ५१ करोड ७७ लाख रहेको छ। युएई नेपालसंँग व्यापार गर्ने तेस्रो ठूलो मुलुक बनेको छ। २० अर्ब ८७ करोड ९७ लाखबराबरको दुई देशको व्यापारमा नेपालको व्यापारघाटा २० अर्ब ७४ करोड ८८ लाख पुगेको छ।

चालू आर्थिक वर्षको यस अवधिसम्म भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क करमार्फत करिब १ खर्ब ६८ अर्ब ३९ करोड १२ लाख रुपियाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ।

यस अवधिसम्ममा विभागले चालू आर्थिक वर्षको राजस्व लक्ष्यमा ८२ दशमलब २८ प्रतिशत राजस्व रकम संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्