फूल व्यवसायको प्रवद्र्धनमा जोड



काठमाडौ (नेस)
अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको अवसर पारेर नेपालमा पनि फ्लोरिकल्चरसम्बन्धी सेमिनार सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा एक दिने सेमिनार सम्पन्न भएको हो। सेमिनारका प्रमुख अतिथि तथा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले फ्लोरिकल्चरका सम्भावना चुनौतीमा विश्लेषण गर्दै आधुनिक प्रविधिको प्रयोगमा लाग्नुपर्ने बताउनुभयो।

यसैगरी सेमिनारका संयोजक डा. उमिद पुनले नेपाली पुष्प व्यवसायले अन्य देशमा प्रयोगमा आएका प्राविधिक ज्ञानलाई नेपाली फ्लोरिकल्चर क्षेत्रमा प्रयोग गर्न ढिला गर्न नहुने विचार व्यक्त गर्नुभयो। पुष्प व्यवसायमा आधुनिक प्रविधिको प्रयोग विषयक सेमिनारमा सयभन्दा बढी सहभागी थिए। सेमिनारमा पुष्प व्यवसायमा आवद्ध व्यवसायी, विद्यार्थीसहित सरकारका सम्बन्धित निकायका प्रतिनिधिले भाग लिएका थिए।

कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले कृषि विकास मन्त्रालयमार्फत् आउने बजेट संघीय संरचना अनुसार वितरण हुने कार्यले भर्खर फस्टाउँदै गरेको यो व्यवसायलाई फाइदा पुग्ने हो वा होइन हेर्न बाँकी नै रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्