चुनावी सुरक्षाबारे आयोगको निर्देशन



बन्दुक तेस्र्याएर मात्रै निर्वाचनको सुरक्षा हुन सक्दैन। सुरक्षा चुनौती निर्वाचन केन्द्रैपिच्छे फरक–फरक हुने गर्दछ। सोहीअनुरूप सुरक्षा रणनीति तय गर्नुपर्दछ।

—प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, (नेस)

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा चुनौती आँकलन गरेर सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

आयोगले शुक्रबार आयोजना गरेको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा सो निर्देशन दिएको हो। आयोगले तराई मधेसका केही जिल्लालाई निर्वाचनको दृष्टिले अति संवेदनशील क्षेत्रको सूचीमा राखेको अवस्थालाई मध्यनजर गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सुरक्षा चुनौती व्यवस्थापन गर्न सुरक्षाकर्मी सफल हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले स्थानीय तहमा सहकार्य गरेर मात्रै निर्वाचनको सुरक्षासम्बन्धी चुनौतीलाई सामना गर्न सकिने बताउनुभयो।

उहाँले बन्दुक तेस्र्याएर मात्रै निर्वाचनको सुरक्षा हुन नसक्ने उल्लेख गर्दै मतदातालाई भयरहित वातावरणको प्रत्याभूत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘सुरक्षा चुनौती निर्वाचन केन्द्रैपिच्छे फरक–फरक हुने गर्दछ। सोहीअनुरूप सुरक्षा रणनीति तय गर्नुपर्दछ।’

प्रमुख निर्वाचन आयुक्त डा. यादवले कुनै एक ठाउँमा सुरक्षा चुनौती भए देशभर त्यसको प्रभाव पर्ने भन्दै सावधानी अपनाउन पनि सुरक्षा निकायलाई सचेत गराउनुभयो। आयुक्त यादवले निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर काम गर्न आग्रह गर्दै राजनीतिक दलबीच मतभेद भए पनि तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभयो।

सो अवसरमा आयुक्त सुधीरकुमार शाहले पनि जस्तोसुकै प्रतिकूल अवस्था आए पनि निर्वाचन सहजरूपमा सम्पन्न हुने विश्वास दिलाउनुभयो। उहाँले निर्वाचन सहजरूपमा सम्पन्न हुने गरी सुरक्षासम्बन्धी रणनीति सरकारले तय गरेको उल्लेख गर्दै एकै चरणमा देशभर शान्तिपूर्ण ढंगबाट निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो।

गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर बनेको बताउनुभयो।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी रहेका छन्। प्रशिक्षण आज शनिबारसम्म चल्नेछ। गृहमन्त्रालयले स्थानीय तह निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने गरी कार्ययोजना बनाएको जनाएको छ।

आयोगले गृह मन्त्रालयसँग सहकार्य गरी अति संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाउने गरी निर्वाचनको सुरक्षासम्बन्धी रणनीति पनि बनाएको सो कार्यक्रममा बताइयो। निर्वाचन आयोगले ७ सय ४४ वटै स्थानीय तहको निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापनको कामलाई तीव्र गतिमा अघि बढाएको बताइएको छ। आयोगले निर्वाचनमा विशेष सुरक्षा सर्तकता अपनाउन र कमभन्दा कम बल प्रयोग गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएको छ। मतदान केन्द्रभित्र प्रवेश गर्दा नै सुरक्षा जाँच गरेर भित्र प्रवेश गर्न दिने व्यवस्था हुनुपर्ने र विद्युतीय मिडियाबाट निर्वाचनका विषयमा गलत ढङ्गले सूचना प्रवाह भएमा त्यसलाई रोक्न, सुरक्षा निकायले पनि आचारसंहिता पालना गर्ने र गराउन तथा आपराधिक गतिविधिका केन्द्रलाई सूक्ष्मरूपमा निगरानीमा राख्न पनि आयोगले निर्देशन दिएको थियो।

यसैबीच स्थानीय निकायको चुनावका बारेमा निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी देवी भण्डारीलाई ब्रिफिङ गरेको छ। सो अवसरमा राष्ट्रपतिले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको थियो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुभएको आयोगले जनाएको छ। निर्वाचनका बारेमा भएको प्रगतिका बारेमा राष्ट्रपतिले सो अवसरमा सन्तोष व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्