छाल समुद्रमै हुन्छ। शान्त समुद्रमा रहेको छालजस्तै उनको सानैदेखिको विद्रोही मन अझै शान्त भएको छैन। देशको विकास भनेजस्तो हुन नसकेका कारण। उनी कहिले यसरी देश विकास गर्न सकिन्छ भनेर समुद्र जस्तै शान्त बन्छन्। कहिले यसरी विकास भएन भनेर छालजस्तो विद्रोही। जुन उनी सानैदेखि थिए। छाल र समुद्रजस्तै। विद्रोही र शान्तजस्तै र एक झलनाथजस्तै। पूर्ण झलनाथ खनालजस्तै।

कमल ढकाल
जीवन सिक्काको दुई पाटो जस्तै हो। सुख र दुःख जीवनमा आइरहन्छ। मात्र एकैपल्ट देखिँदैन। ‘त्यसैले दुःख आयो भनेर नआत्तिनु सुखको पाटो पल्टिन बाँकी छ भन्ने ठान्नु।’ भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले जीवनमा दुःख पाएर सिकेको यो दर्शन सबैलाई काम लाग्नेछ।

हरेकको भागमा दुःख छ। सुख छ। कसको भागमा कति छ भन्ने कुरा कत्रो लक्ष्य हो भन्नेले अर्थ राख्छ। नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनालको भागमा पनि दुःख छ। मन्त्री भएको मात्र सुन्छौं। सिक्काको अर्काे पाटोमा दुःख प्रशस्त छ। यसरी हेर्ने हो भने झलनाथ खनालको भागमा पनि सुख थोरै छ। दुःख धेरै छ।

‘सूर्यजस्तै चम्कने हो भने ऊजस्तै बल्न सिक।’ उनी थाहा पाएर नपाएर बलिरहे। इलामको साखेजुंगमा २००६ साल चैत्र ६ गते जन्मेका झलनाथको जीवनमा जानेर नजानेर चाहेर नचाएर दुःख आइरहे। चार कक्षामा पढ्दा आएको दुःख सम्झेर झलनाथ अहिले पनि भक्कानिँदा रहेछन्। उनीसँगै पढ्ने असाध्यै मिल्ने उनको साइँलो दाइलाई ज्वरो आयो। त्यसपछि उनको काइँलो दाइलाई र बहिनीलाई पनि ज्वरो आयो। ज्वरो आएको १७ औं दिनमा साइँलो , १८ दिनमा काइँलो र १९औं दिनमा बहिनीको मृत्यु भयो। यो घटनाले उनी पढेर के हुँदोरहेछ र मरि हालिँदो रहेछ भन्नेमा पुगे र डेढ महिनासम्म स्कुल गएनन्। सिक्काको अर्काे पाटो पल्टाउँदै पढन गए प्रथम भइरहे।

राजनीतिमा लाग्नु दुःखको पाटो पल्टाउनु हो। उतिबेलाको राजनीति आजको जस्तो सामान्य छदै थिएन। मरे देशका लागि भनेर राजनीतिमा लाग्दा कुटपिट , जेलनेल समान्य नै भए। यो असमान्य जीवनलाई सामान्य मानेर हिँडेर नै झलनाथ यहाँ आइपुगे। उनीमा १५ वर्षदेखि आएको राजनैतिक चेतनाले मेची विद्यार्थी संगठनको अध्यक्ष बनायो। २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका उनी २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्य बने। भूमिगत जीवनमा शिक्षक सजिलो हुन्थ्यो। त्यसैले त २०२८ मा बागलुङ गलकोट माविमा विज्ञान शिक्षक बने। शिक्षक बन्दै राजनीति अगाडि बढाएको बुझेर धवलागिरी अंचलाधीशले निलम्बन गरे। इलाममा आएर पढाए। त्याहाँ पनि त्यही समस्या भयो।

प्रहरी कुटपिट सामान्य लाग्थ्यो उनलाई। २०३० सालमा १४ महिना जेल परे। अब जेल पर्नु र छुटनु पनि सामान्य भयो। कहिले ६ महिना कहिले तीन वर्ष हुँदै जेलभित्रबाहिर गरिरहे। भूमिगत जीवनमा नै उनी नेकपा मालेको महासचिव बने। त्यतिबेला ३३ वर्षका थिए। २०४६ सालमा जेएन खनालको नाममा सार्वजनिक भएका उनी २०४७ को अन्तरिम सरकारका कृषि, भूमिसुधार तथा व्यवस्था वन तथा वातावरण मन्त्री बने। इलामबाट संसदीय चुनावमा २०४७ र २०५१ मा सांसद भए। २०५३ मा सूचना तथा सन्चारमन्त्री बने। २०६४ को संविधान सभामा प्राय शीर्ष नेताले हार्दा उनी मात्र जिते। उनी महासचिव भए। २०६६ को बुटवल महाधिवेशनबाट अध्यक्ष बने र २०६७ माघ २० मा उनी प्रधानमन्त्री भए। पार्टी अध्यक्षबाट २०७१ मा केपी ओलीलाई पद हस्तान्तरण गरे ।

दुर्गा कवचबाट पढाइ शुरु गरेका धुलौटोमा लेख्न सिकेका झलनाथ कृषक परिवारबाट आएका हुन्। घरमा गाई, भंैसी, बाख्रा, भेडा उनले पनि चराए। आफूले घाँसको भारी ल्याएको बारीको डल्ला फुटाएको सम्झदा अहिले पनि रोमान्चित हुन्छन्। झलनाथका जिजुबाजे, बाजे र बाबु प्रख्यात पण्डित हुन्। बाजे उमाकान्त तत्कालीन ज्योतिषी पनि हुन्। झलनाथ जन्मनुअघि धुलौटो लिएर ज्योतिषी विद्या हेर्दे गरेका उमाकान्तले भनेका थिए रे छोरै जन्मनुपर्छ यतिबेला। नभन्दै झलनाथ नै जन्मिए। धुलोटौ कोर्दै उमाकान्तले फेरि भनेका थिए रे बल्ल मेरो मन्त्री हुने छोरो जन्मियो अब म हिँडे। नभन्दै झलानथ मन्त्री मात्र हैन प्रधानमन्त्री बने।

पण्डित खलकको भएर नै झलनाथले पनि आफूले माछामासु मात्र हैन लसुन प्याजसमेत इलाम सदरमुकाम पब्लिक हाई स्कुलमा सात कक्षा पढन आएपछि मात्र खाएको बताउँथे। उनले आफूले मात्र चाखेनन् प्याज घरमा बोकेर लगे। धोती फेरेर मात्र भात खाने, लसुन प्याज नखाने, माछा मासु नखाने सबै चलन उनले सात कक्षा पढ्दादेखि नै तोडे। यसरी हेर्दा उनी पण्डित खलकका पहिल्यैदेखि विद्रोही स्वभावका देखिए।उनले आफूले घुर्काएर झगडा गरेर हैन कन्भिन्स गरेर मात्र घरमा परिवर्तन गरेका थिए। सानैमा व्रतबन्ध नगरी रुद्री पढन नपाउने चलन पनि उनले मेहनतले तोडे। सुनेरै उनले रुद्रीका श्लोक कण्ठ गरे। हजुरबालाई सुनाएर भनेको भन्दै भन्थे ‘मदाई थप्पै आउँछ मैले पदन किन नपाउनु।’ सानो बालकले तोते स्वरमा यसो भनेपछि हजुरबा कन्भिन्स भएर आफूले रुद्री पढन पाएको उनी बताउँथे। विद्रोहमा मेहनत र विचारले कन्भिन्स गर्नुपर्छ भन्ने उनले सानैमा जाने।

आफ्नो बारे असल साथीलाई बताउन आवश्यक छैन ,शत्रुले बताए पनि पत्याउँदैनन् भने किन म यस्तो भन्दै हिँड्ने भन्ने दर्शन झलनाथले जीवनमा अँगाले। त्यसैले उनले आफ्नो बारेमा भन्दा दर्शन र चिन्तनको बारे कुरा गरिरहे। काम गरिरहे। वैचारिक,दार्शनिक, तार्किक र अध्ययनशील नेताका रूपमा आफ्नो छवि उनले बनाइरहेका छन्। प्रश्न सोध्ने मान्छे केही मिनेटका लागि मुर्ख होला तर नसोध्ने मान्छे जीवनभरका लागि मुर्ख हुन्छ भन्ने कुरा उनले सानैमा जाने। प्रश्न सोध्दै आफैंले आफैंलाई उत्तर दिँदै उनी अगाडि बढिरहे।

२०३४ सालमा विवाह गरेका रविलक्ष्मी चित्रकारसँगको प्रमाण एक छोरा छन् माता मधुमाताका १३ सन्तानमध्ये झलनाथ सातौं हुन्। झलनाथलाई गाउँमा अहिले पनि जन्तरे भन्छन्। इलामको साखेजुगदेखि काठमाडांैको डल्लु सर्दासम्मको कथा एकैनासको छैन। छाल समुद्रजस्तो एकै ठाउँमा मात्र छ। पानी छाल र समुद्रको धागो हो भने यो कथाको धागो झलनाथ आफैं हुन्।

छाल समुद्रमै हुन्छ। शान्त समुद्रमा रहेको छालजस्तै उनको सानैदेखिको विद्रोही मन अझै शान्त भएको छैन। देशको विकास भनेजस्तो हुन नसकेको कारण। उनी कहिले यसरी देश विकास गर्न सकिन्छ भनेर समुद्रजस्तै शान्त बन्छन्। कहिले यसरी विकास भएन भनेर छालजस्तो विद्रोही। जुन उनी सानैदेखि थिए। छाल र समुद्रजस्तै। विद्रोही र शान्तजस्तै र एक झलनाथजस्तै। पूर्ण झलनाथ खनालजस्तै।

LEAVE A REPLY