राष्ट्रपतिबाट उच्च मनोबलका साथ काम गर्न आयोगलाई आग्रह



काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राख्नुभएकामा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उहाँहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्