‘भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुन्छ’-यादव



काठमाडौँ, १८ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले आज सुरु गरेको ‘स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा’ विषयको प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले उम्मेदवार र मतदातालाई हुन सक्ने सुरक्षा चुनौती र जोखिम पहिचान गरी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । डा यादवले भन्नुभयो, ‘‘सुरक्षा सबै नागरिकको आधारभूत आवश्यकता हो, निर्वाचनको कार्यक्रम सुरु भइसकेको हँुदा सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिन आवश्यक छ, सुरक्षा निकायबाट पनि निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यसम्पादन होस् भने आयोग चाहन्छ ।’’

सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागिता र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताउनुभयो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग र सुरक्षा निकायबीचको सहकार्यबाट स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्यका साथ सुरक्षाकर्मीका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । दुईदिने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ अधिकृत सहभागी रहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्