२६ उद्योग विरुद्द सरकारी मुद्दा



नेपाल समाचारपत्र, हेटौंडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले बारा, पर्सा र चितवनका न्युन गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने उद्योगका उत्पादनविरुद्द मुद्दा दायर गरेको छ ।
कार्यालयले शुक्रबार हेटौंडामा गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालय प्रमुख राजकुमार रिजालले बारामा १७, चितवनमा ५ र पर्सामा ४ वटा गरी २६ वटा मुद्दा दायर गरिएको बताए ।

न्युन गुणस्तरका सूर्यमुखी तेल, वनस्पति घ्यु, सोयाविन तेलजस्ता खाद्य उद्योगमाथि आर्थिक वर्ष २०७३÷०७४ को दोस्रो चौमासिकमा मुद्दा दायर गरिएको रिजालले बताए । गुणस्तरीय खाद्य सामग्री उपभोग गर्ने उपभोक्ताको अधिकार रक्षार्थ कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिएको उनले जनाए ।

कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खाद्य गुण नियन्त्रण कार्यालयले अझ तीव्रगतिमा बजार अनुगमन गर्नुपर्ने बताए । हरेक उपभोक्ताकोे गुनासो समेटेर कार्यालयले कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख रामचन्द्र पाठक, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, मकवानपुर होटल एसोसिएसन अध्यक्ष भागीरथ शर्मा र हेटौंडा उपमहानगरपालिकाका महाशाखा प्रवन्धक बीके महर्जनलगायतले जनस्वास्थ्यबारे मन्तव्य व्यक्त गरेका थिए ।

२०३७ सालदेखि केन्द्रीय खाद्य अनुसन्धानशालाका रुपमा र २०५७ साउन २३ बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका रुपमा स्थापना भएपछि खाद्य एवम् दाना पदार्थको गुण नियन्त्रण तथा खाद्य एवम् दाना पदार्थको गुणस्तर जा“च परीक्षण, खाद्य प्रविधि विकास एवम् प्रसार, पोषण अनुसन्धान तथा प्रचारप्रसार, इन्क्वाइरी पोइन्टमार्फत् खाद्य स्वच्छताबारे सूचना प्रदान गर्नेजस्ता कार्य गर्दै आएको छ ।
विभिन्न उद्योग, डिपार्टमेन्टल स्टोर, किराना पसल, मिठाइ पसल एवम् राजमार्गका पसलमा समेत अनुगमन गर्दै आएको कार्यालयले अनुगमनका क्रममा व्यापारीले उपभोक्ता ठगी गरेका, अखाद्य बस्तु बेचेको वा बढी नाफा कमाउने उद्देश्यले उपभोक्तालाई झुक्याउने कुनै किसिमका क्रियाकलाप गरेको पाइए खाद्य ऐनअनुसार तत्काल कारबाहीको दायरामा ल्याएर दण्ड एवम् सजायको व्यवस्था गरिने रिजालले जानकारी दिए ।
कुनै खाद्य सामग्री खरिद गर्दा तौल, उत्पादन मितिलगायत सूचना हेरेरमात्र खरिद गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्