आचार संहिता उल्लघंन गर्दै सांसद र प्रजिअ



 

सन्तोष अधिकारी, गोरखा । गोरखामा सांसद, प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थानीय निकायको निर्वाचनको आचारसंहिचा उल्लंघन गरेका छन् ।

सांसद छमबहादुर गुरुङ्ग, प्रजिअ जितेन्द्र बस्नेत, सहायक प्रजिअ केशव शर्मा, प्रहरी नायब उपरीक्षक जनकराज पाण्डेय, सशस्त्र प्रहरी बल गोरखा गुल्मका डिएसपी राजेन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका गोरखा प्रमुख डिएसपी जीतबहादुर घलेले आचारसंहिता उल्लंघन गरेका हुन् ।

उनीहरुले जिल्लाको धार्चे गाउँपालिकाको गुम्दामा गैरसरकारी संस्थाले निर्माण गरेको विभिन्न कामहरुको उद्घाटन गरेका हुन् । यस अघि नै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीले आफु र आफु माताहतका कर्मचारीलाई एनजिओ र आइएनजिओको कार्यक्रममा नपठाउन निर्देशन गरिसकेको थियो ।
त्यस्तै स्थानीय निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ३ को दफा ७ को उपदफा २ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहका कर्मचारीले कुनै पनि कार्यक्रम, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण वा अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन नपाइने भनेर उल्लेख समेत गरिएको छ । प्रजिअको टोली एनजिओको खर्चमा एनजिओकै कार्यक्रमको अनुगमन गर्न विहिबार नै गुम्दा पुगेको हो ।
प्रजिअको टोलीमा सहभागि एकका अनुसार उनीहरुले केयर नेपालको आर्थिक सहयोगमा भएको विभिन्न कार्यक्रमको अनुगमन गरेका छन् । ‘आलु संकलन केन्द्रको भवनको उद्घाटन भयो’ भ्रमण टोलीका एकले नाम नबताउने शर्तमा भने ‘अन्य सहभागिले रिबनै काटेर उद्घाटन गरौँ भन्दा सिडियो साबले होइन रिबन त नकाटौँ आचारसंहिता लाग्छ भनेर अनुगमन गरेर गाउँलेसँग छलफल कार्यक्रम मात्र गर्नुभयो ।’
सांसद र प्रजिअको टिमलाई खाने, बस्ने, आतेजाते भनेर केयर नेपालले भत्ताको समेत ब्यवस्था गरेको छ । सो कार्यक्रममा जिल्लाका आधादर्जन सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ । केहि दिन अघि जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदी पनि ताकुकोटको विद्यालय भवन शिलान्याश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्