ठगीका नाईके पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे ।

भुकम्प पीडितहरुको घर निर्माण गर्न सहयोग गर्ने, बैदेशिक रोजगारीमा पठाउने तथा सवारी चालक अनुमति पत्र बनाईदिने भन्दै ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरेको छ । प्रहरी अनुसन्धानमा ३० जनाको उजुरीबाट विभिन्न उदेश्यले ३० लाख भन्दा धेरै ठगी गरेको खुलेको छ ।

साविक देविटार गाविस वडा नम्बर ३ हाल धुलिखेल नगरपालिका घर भई बनेपाको गोदामचोकमा विगत २ वर्ष देखि डेरा लिई बस्दै आएका ३५ वर्षका यादव घोरसाईनले भुकम्प पीडितहरुलाई घर निर्माणका लागि निर्माण सामाग्री, सिमेन्ट, रड, बालुवा, जस्तापाता जस्ता सामाग्री हिमानी ट्रष्टबाट ल्याईदिने भन्दै जनही १३ जनाबाट ६ हजार र अन्य केहिबाट समेत गरी १ लाख ५५ हजार ठगी गरेका छन् ।

ठगिनेहरुमा साविक ग्र्रैह्वििसौना गाविस वडा नम्वर २ घर भएका गोविन्दप्रसाद ढकाल र उनको घर वरपरका १३ जना रहेका छन् । सबै पीडितहरुलाई घोरसाईनले पाँचखाल केराघारी घर भएका रामकुमार खाति हिमानी ट्रष्टमा आवद्ध भएकाले उनी मार्फत प्रति ब्यक्ति २ लाख सहयोग आउने भन्दै भाडा स्वरुप ६÷६ हजार असुलेका थिए भने साविक कुशादेवी गाविस वडा नम्वर ३ घर भएकी ४५ बर्षिया दिलकुमारी श्रेष्ठ र सोहि ठेगानाकी ३७ बर्षिया धनकुमारी श्रेष्ठसँग ३२ हजार रकम असुलेका थिए ।

घोरसाईनेले बैदेशिक रोजगारका नाममा इजरायल र कोरिया पठाउने भन्दै दर्जनौ ब्यत्तिहरुलाई ठगी गरेको भए पनि इलाका प्रहरी कार्यालय बनेपामा ८ जनाले मात्रै उजुरी गरेका छन् । उनिहरुबाट मात्रै घोरसाईनेले २५ लाख भन्दा धेरै ठगी गरेका छन् । ग्र्रैह्वििसौना गाविस वडा नम्वर २ घर भएका गोविन्दप्रसाद ढकालका दुई छोरी विन्दा र लक्ष्मी ढकाललाई उनै घोरसाईने इजरायल पठाउने भन्दै उनिहरुको राहदानी, नाता प्रमाणित गरेको कागजात सहित २०७३ जेष्ठ १७ गते ३ लाख नगद बुझाएका थिए । फेरी ढकालले रकम अपुग भयो भन्दै असार ३ गते १ लाख, असोज ३ गते १ लाख गरी पाँच लाख रकम बुझाएका थिए । ढकालले रकम लिएर इजरायले नपठाएपछि घोरसाईनेलाई तत्काल रकम फिर्ता गर्न दबाब दिएपछि २०७३ फागुन १२ गते एक लाख रकम फिर्ता गरेका थिए ।

त्यस्तै सोहि ठेगानाका देवकृष्ण ढकालसँग इजरायल पठाउने भन्दै घोरासाईनेले बैना स्वरुप २० हजार र हिमानी ट्रष्टको सहयोग ल्याउने भन्दै २०७३ साल बैशाख ११ गते ६ हजार ठगी गरेका थिए । सोहि ठेगानाका दिपक ढकालसँग २०७२ साल चैत्र २२ गते बैदेशिक रोजगारीका लागि चार लाख र हिमानी ट्रष्टको सहयोगका लागि ६ हजार ठगी गरेका छन् । पाँचखाल नगरपालिका ६ घर भएका हरिप्रसाद सापकोटाले छोरा राजकुमार सापकोटालाई इजरायल पठाउने भन्दै २०७२ चैत्र २ गते १ लाख, २०७३ जेठ ११ गते १ लाख ५० हजार, जेठ १८ गते १ लाख र असार ५ गते १ लाख गरी ४ लाख ५० हजार नगद र राहदानी बुझाएका थिए । उनका अर्का छोरा सन्तोष सापकोटासँग यादवको बहिनीले विवाह गरेकी छिन् ।

बैदेशिक रोजगारका लागि कोरिया पठाउने भन्दै देविटार ७ का सानुराम तामाङसँग २०७३ असोज १२ गते २ लाख ५० हजार, तेजबहादुर तामाङसँग २०७३ असोज १८ गते २ लाख ५० हजार, भिमबहादुर तामाङसँग २०७३ मसिंर ९ गते १ लाख ५० हजार, प्रेम तामाङसँग २०७३ मसिंर ९ गते २ लाख ५० हजार रुपैया घोरासाईनेले ठगी गरेको उजुरी परेको छ । त्यस्तै रविओपी गाविसका २५ बर्षिय मनोज थापासँग२०७३ पुष ११ गते हेभी गाडीको सवारी चालक अनुमति पत्र ल्याईदिने भन्दै ६५ हजार, बनेपा ११ घर भएका रामप्रसाद तिमल्सिनासँग मोटरसाईकलको सवारी चालक ल्याईदिने भन्दै १५ हजार र बनेपा ११ कै राजेश भट्टराईसँग २२ हजार रकम ठगी गरेका छन् । प्रहरीले घोरासाईनेको कोठाबाट चालक अनुमति पत्रका लागि भरिने खाली ३ वटा र भरिएको २ वटा फाराम, भत्तेश्वर सहकारीको पासबुकहरु, राष्ट्रिय जनता पार्टी(राजाबादी) लेखिएका लेटरप्याडहरु लगायत बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक अनिल घिमीरेका अनुसार घोरसाईने ठगी विरुद्ध ३० भन्दा धेरैले उजुरी दिए पनि बैदेशिक रोजगारको मुद्दा प्रहरीले चलाउन नमिल्ने भएकाले हिमानी ट्रष्टका नाममा भएको ठगी, सवारी चालक अनुमति पत्र बनाईदिने भन्दै गरिएको ठगी लगायतमा देखिएको विगो र मुलुकी ऐनको ठगी महलको १ नम्बर बमोजिम सजाँयको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्