अग्निपीडितलाई सहयोग जुट्दै



सिन्धुली, १८ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–७ गड्यौली खैरेनीका आगलागी पीडितलाई नेकपा (एमाले) सिन्धुली कमिटीले आर्थिक सहयोग गरेको छ ।

अग्निपीडितलाई नेकपा (एमाले)का जिल्ला कमिटी सदस्यबाट रकम सङ्कलन गरी रु ५० हजार अग्निपीडितलाई सहयोग गरेको हो । आगलागीबाट घरबार गुमाएका नेत्रबहादुर थापा र वीरबहादुर थापालाई रु ५० हजार आर्थिक प्रदान गरिएको दलका जिल्ला कमिटी उपसचिव महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

चैत १६ गते भएको आगलागीबाट पीडित बनेका थापाद्वयलाई आर्थिक सहयोग गर्न सम्पूर्ण जिल्लावासीमा सो दलले आग्रह पनि गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र सिन्धुली पुनःनिर्माण तथा पुनःस्थापना अभियानका अध्यक्ष उज्वलविक्रम थापाले दुधौली नगरपालिका–१० मङ्गलपुरका भजन कामी र कमलामाई नगरपालिका–७ खैरेनीटारका थापाद्वयलाई सहयोगस्वरुप जस्तापाता उपलब्ध गराउनु भएको छ ।
विगत केही दिनदेखि पालमा रात काटिरहेका पीडितले राहतको महसुस गरेका छन् । पीडितले घर निर्माणको लागि जस्तापाता, किल्ला, प्लेनसिट पाएपछि खुसी हँुदै सरकारले कुनै राहत सहयोग नगरिरहेको अवस्थामा जनस्तरबाट सहयोग गरेकोमा धन्यवाद दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्