नाम छुटेको भन्दै भूकम्पपीडितले निवेदन दर्ता गराए



रत्ननगर (चितवन), १८ चैत । भूकम्पपीडितको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै एक हजार ५०० भन्दा बढीले जिल्ला विकास समिति, चितवनमा निवेदन दर्ता गराएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, चितवनका सदस्य एवम् जिविस चितवनका सूचना अधिकारी बलराम लुइँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताउनुभयो ।

“अहिलेसम्म एक हजार पाँच सयको गुनासो दर्ता भइसकेको छ, अझै आउने क्रम जारी छ”, लुइँटेलले भन्नुभयो – “जिल्लाका विभिन्न क्षेत्रबाट नाम छुट्यो हामी पनि भूकम्पपीडित हौँ, भन्दै आइरहेका छन् ।”

जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनले लगत सङ्कलनको काम अन्तिम चरणमा पु¥याएका बेला यसरी छुटेको भन्दै गुनासो आएको हो । जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय, चितवनका संयोजक जीवनाथ आचार्यले तोकिएको सूचीका आधारमा मात्रै आफूहरुले लगत सङ्कलन गरेको बताउनुहुन्छ ।

“हामीलाई तोकिएको र सूचीमा परेको घरभन्दा बाहिर गएर नामावली सङ्कलन गर्ने अधिकार छैन, आचार्यले भन्नुभयो – “छुटेका भए गुनासो गर्न सकिने छ ।”

जिल्ला लगत सङ्कलन समितिका अनुसार अहिलेसम्म चितवनमा १४ हजार पाँच सयको लगत सङ्कलन भएर केन्द्रमा पठाइसकिएको छ । अझै केहीको नाम सङ्कलन गर्न बाँकी रहेकाले एक हप्ताभित्र लगत सङ्कलनको काम सक्ने योजना रहेको संयोजक आचार्यले बताउनुभयो ।

माघ पहिलो साताबाट यहाँ पीडितको लगत सङ्कलन थालिएको थियो । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका थिए । नाम दोहोरिएकाले केही सङ्ख्या घटेको छ ।

जिल्लामा फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा खटिएका थिए । टोलीले कम्प्युटरमा नै फारम भर्ने, घरको र मानिसको समेत फोटो लिने र घरको अवस्थाको मूल्याङ्कन गरेर नामावली सङ्कलन गरी नेटमार्फत केन्द्रमा सोझै पठाइने व्यवस्था गरिएको छ ।

पुनःनिर्माण प्राधिकरणले अन्तिम सूची निकालेपछि सूचीमा नाम परेकाले सरकारबाट रु तीन लाख प्याकेज पाउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्