प्रहरी चौकी निर्माण गर्न निःशुल्क जग्गा प्रदान



सोलुखुम्बु, १८ चैत । सोलु दूधकुण्ड नगरपालिका–१ स्थित टाक्सिन्दुमा प्रहरी चौकी निर्माणका लागि एक स्थानीयले करिब रु नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेको छ ।

स्थानीय पासाङ ग्याल्जेन शेर्पाले प्रहरी चौकी निर्माणका लागि सो जग्गा निःशुल्क प्रदान गरेको हो । प्रदान गरिएको सो जग्गा बिहीबार नै जिल्ला मालपोत कार्यालय सोलुुखुम्बुबाट प्रहरी चौकी टाक्सिन्दुको नाममा रजिस्ट्रेसन पास गरिएको शेर्पाले बताउनुभयो ।

प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा नहुँदा समस्या भएपछि आफूले सो जग्गा निःशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो ।

अब प्रहरी चौकीको नाममा जग्गा प्राप्त भएको छ, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट खोज्न सहज हुने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्