बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए



बैतडी, १८ चैत । चालु आवकोे साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी) रहेका छन् ।

गत वर्ष बैतडीमा दुईसय सात क्षयरोगी फेला परेका थिए जसमध्ये महिला ५५ र पुरुष एकसय ५२ रहेका थिए । ती मध्ये ६० प्रतिशत फोक्सोको सर्ने खालका बिरामी रहेको क्षयकुष्ठ सुपरभाइजर जोशीले भन्नुभयो, “गतवर्ष फेला परेका क्षयरोगी बिरामीमध्ये ८९ प्रतिशतलाई निको भइसकेको छ । ”

पन्ध्र देखि ३४ बर्ष उमेरसम्मका व्यक्ति क्षयरोगी बढी भेट्टिएको उहाँले बताउनुभयो । बैतडीका ६८ ठाउँमा क्षयरोगीका उपचारका लागि डट्स केन्द्र र आठवटा ठाउँमा क्षयरोग निदानका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् । साथै समुदायमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउन बैतडीका ६८ वटै डट्स केन्द्रबाट खकार जाँचका लागि कुरियर सेवा पनि सुरु भएको छ ।

नेपाल सरकारले क्षयरोग लागेका बिरामीको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर सबै क्षयरोगी अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ ।

बैतडीको हकमा धेरैजसोले सीमावर्ती भारतको पिथौरागढमा गएर औषधि गर्ने तर औषधिको पूरा मात्रा नखाने हुनाले जीर्ण क्षयरोगको समस्या बल्ँिझदै गएको छ ।

लगातार दुई हप्तासम्म खोकी लागिरहनु, साँझपख हल्का ज्वरो आउनु, तौल घट्दै जानु, खान मन नलाग्नुजस्ता लक्षण देखापरेमा क्षयरोग हुन सक्ने भएकाले स्वास्थ्यसंस्थामा चेकजाँच गराउन पनि जोशीले आग्रह गर्नुभएको छ । क्षयरोग सामान्य रोग भएपनि यसको उपचारमा ढिलाइ ग¥यो भने यसले मानिसको ज्यानसमेत जाने हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्