मल्लको अलराउन्डर प्रदर्शनमा नेपालको जित



नेपाल समाचारपत्र
काठमाडौं
ज्ञानेन्द्र मल्लको अलराउन्डर प्रदर्शनमा नेपालले बंगलादेसमा जारी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताबाट जितसँगै विदा लिएको छ।

पहिलो दुई खेल हारेको नेपालले बिहीबार भएको समूहको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ। नेपालले हङकङले छोडेको २ सय १५ रन लक्ष्य तीन विकेटको क्षतिमा ३४ बल बाँकी राखी प्राप्त गरेको हो। नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन जोडे भने दीपेन्द्रसिंह ऐरीले ६० र सरद भेषवाकरले ५५ रनको योगदान दिएका छन्।

म्यान अफ द म्याच घोषित मल्लले ८२ बलको सामना गरेर ११ चौका प्रहार गरे। उनले तयार गरेको जितको आधारलाई सरद र दीपेन्द्रले साकार पारेका थिए। उनीहरूले चौथो विकेटका लागि अटुट १ सय ५ रन साझेदारी गरेर नेपालको प्रतिष्ठा राखे। यो दीपेन्द्रको प्रतियोगितामा लगातार दोस्रो अद्र्धशतक थियो। उनले ८३ बलमा ५ चौका र एक छक्का प्रहार गरे भने ५१ बलमा सरदले तीन चौका र तीन छक्का प्रहार गरेका थिए।

यसअघि नेपाली टोलीमा ओपनिङमा जम्न नसकेका सुनिल धमलालाई ड्रप गरिएको थियो। उनको स्थानमा आएका आसिफ शेख र मल्लले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। आसिफले ८ रन योगदान गरेर आउट भएका थिए। अघिल्लो खेलमा राम्रो खेलेका दिलीप नाथ मल्लसँग दोस्रो विकेटका लागि ४४ रनको साझेदारी गर्दै केवल १२ रन बनाएर आउट भए। यसपछि मल्ल दीपेन्द्रसँग तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गरेर पवेलियन फर्कदा नेपाललाई जितका लागि १ सय रन आवश्यक थियो।

यसअघि नेपालले टस जितेर हङकङलाई ब्याटिङको निमन्त्रणा दिएको थियो। जसमा हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। हङकङको ओपनिङ जोडिको उत्कृष्ट शुरूआत दिलाउँदै नेपालको निर्णयलाई गलत सावित गराउने प्रयास गरेका थिए। कामेरुन म्याकुल्सन र अन्सुमन रथले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै नेपालमाथि दबाब बढाएका थिए।

तर कप्तान मल्ल आफैं बलिङ गरेर दुई ओभरको फरकमा दुवै ओपनरलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए। अन्सुमनले अद्र्धशतक पूरा गरेका थिए। ६० बल खेलेका उनले ७ चौकाको मद्दतमा ५१ रन बनाए। ज्ञानेन्द्रले आफ्नै बलमा अन्सुमनलाई क्याच गरे। ७३ बलमा ४३ रन बनाएका क्यारुनले ५ चौका प्रहार गरे। त्यस्तै वकास खानले ३०, साहिद वासिफले २२ र इशान खानले १३ रन बनाउनुबाहेक हङकङका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अन्य नेपाली बलरमा अविनास कर्णले २९ रन दिएर तीन विकेट लिए भने मल्ल, सुसन भारी र भुवन कार्कीले समान २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्