श्रेष्ठ र घिसिङलाई हाइड्रो अवार्ड



काठमाडौं, (नेस)
नेपालको जलविद्युत्को क्षेत्रमा गुरु मन्त्रका रुपमा लिइने ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पत्ता लगाउने व्यक्ति डा. हरिमान श्रेष्ठलाई हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। हाइड्रो नेपालले पहिलोपटके उक्त अवार्ड डा. श्रेष्ठले जलविद्युत् क्षेत्रमा लामो समयदेखिको निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गरेको हो। डा. श्रेष्ठले सन् १९६६ मा मस्को पावर इन्टिच्युट (तत्कालीन सोभियत संघ) बाट आफ्नो जलस्रोतसम्बन्धी अध्ययनको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउनु भएको थियो। जुन कुरा आज ५० वर्षपछि सम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम् प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमो कदर गर्दै हाइड्रो नेपालले हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड–२०१७ प्रदान गर्ने निर्णय गरेको हो।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड सन् २००८ देखि निरन्तर रुपमा जल, ऊर्जा तथा वातावरण क्षेत्रमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ। हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड र हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड छनोटका लागि अवार्ड मूल्यांकन समितिमा विभिन्न क्षेत्रका ५ जना विज्ञ रहनुभएको थियो। उक्त अवार्ड अर्को साता एक कार्यक्रम आयोजना गरी प्रदान गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

यसअघि सन् २००८ मा पत्रकार विकास थापालाई, सन् २००९ मा डा. डम्बरबहादुर नेपालीलाई, सन् २०१० मा ज्ञानेन्द्रलाल प्रधानलाई, सन् २०११ मा तत्कालीन उर्जामन्त्री गोकर्णराज विष्टलाई र सन् २०१३ मा निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) लाई मुलुकको ऊर्जा विकासको लागि सकारात्मक विकासमा योगदान पुर्याएवापत उक्त अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्